काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गतको खेलमा जर्मनीले बोस्निया एन्ड हर्जगोभिनाको पोस्टमा आधा दर्जनभन्दा बढी गोल बर्साएको छ ।
शनिबार राति युरोपा पार्क रंगशालामा भएको खेलमा घरेलु टोली जर्मनीले बोस्नियालाई ७–० गोलको भारी अन्तरले हराएको हो ।
जमाल मुसियलाको गोलबाट जर्मनीले खेलको दोस्रो मिनेटमै सुरुवाती अग्रता लिएको थियो । यसपछि टिम क्लेइन्डिस्टले २३ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
आक्रमण जारी राखेको जर्मनीले खेलको ३७ औँ मिनेटमा नै तेस्रो गोल थप्यो । काइ काभट्जले गोल गरेका हुन् ।
दोस्रो हाफको सुरुवातीदेखि नै जर्मनी फेरि खेलमा हाबी भयो । खेलको ५० र ५७ औँ मिनेटमा फ्लोरियन विट्जले लगातार २ गोल गरेपछि जर्मनी ५–० ले अगाडि रह्यो ।
त्यसपछि पनि खेलको ६६ औँ मिनेटमा लिरोय सानेले गोल थपे । यसपछि पनि जर्मनी रोकिएन । क्लेइन्डिस्टले नै ७९ औँ मिनेटमा गोल गरेपछि जर्मनीले खेल ७–० को भारी अन्तरले जित्यो ।
यस जितसँगै लिग १ को ‘सी’मा रहेको समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पाँच खेलबाट जर्मनीले १३ अंक जोडेको छ ।
यो समूहमा ८ अंक जोडेको नेदरल्यान्ड्स उपविजेता बनेको छ । यो समूहमा हंगेरीले ५ र बोस्नियाले १ अंक मात्र जोडेका छन् । बोस्निया लिगमा घटुवा भएको छ । हंगेरीको भने प्ले अफ अवसर अझै छ ।
Facebook Comment
Comment