काठमाडौंमा निधन भएकी प्रदेश सांसद गौचनको गृहजिल्लामा अन्त्येष्टि

नेपालभ्युज

काठमाडौंमा निधन भएकी प्रदेश सांसद गौचनको गृहजिल्लामा अन्त्येष्टि

म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा श्रद्धाञ्जली अर्पण गरी शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।

डेङ्गीबाट थलिएकी ६३ वर्षीया प्रदेश सांसद  गौचनको बिहीबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । काठमाडौंबाट ल्याइएको गौचनको पार्थिव शरीरलाई शनिबार दिउँसो श्रद्धाञ्जलीका लागि बेनीको सङ्गमचोकमा राखिएको थियो ।

नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रेशमबहादुर बानियाँले गौचनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।

संविधानसभा सदस्य नरदेवी पुन, गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहितका सुरक्षा अधिकारी तथा कार्यालय प्रमुख, राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण गौचनप्रति श्रद्धाञ्जली अर्पण र शवयात्रामा सहभागी भएका थिए ।

क्याम्पसचोकस्थित स्वर्गीय गौचनको निवासबाट बेनीको न्युरोड हुँदै कालीगण्डकीको दोभानमा शवयात्रा गरिएको थियो । दाहसंस्कारअघि नेपाल प्रहरीको टोलीले गौचनप्रति शोक सलामी अर्पण गरेको थियो ।

कांग्रेसबाट समानुपातिकतर्फ गण्डकी प्रदेशसभा सदस्य मनोनित भएकी गौचनको पार्थिव शरीर शनिबार बिहान पोखरास्थित प्रदेशसभाको सचिवालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्ण धिताललगायत मन्त्री र प्रदेशसभा सदस्यले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved