पुस्तक चर्चा

एउटा पाठकका आँखामा ‘तुइन जिन्दगी’

नेपालभ्युज

एउटा पाठकका आँखामा ‘तुइन जिन्दगी’

डाक्टर रेणुका सोलु पिता उजिरबहादुर बस्नेत र माता अम्बिका बस्नेतकी जेठी छोरीका रूपमा सोलुखुम्बुको सोताङ भन्ने गाउँमा जन्मिएकी हुन् । उनी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा प्रशासनिक प्रमुखका रूपमा काम गर्छिन् । उनी समानता, स्वतन्त्रता र नागरिक हकहितका लागि कलम चलाउने निडर लेखक हुन् ।

कथा, उपन्यास, कविता,गजल,निबन्ध, आत्मकथा आदि विविध विधामा कलम चलाएकी सोलुको ‘तुइन जिन्दगी’ नामक संस्मरणात्मक निबन्धसङ्ग्रह भर्खर मात्र प्रकाशित भएको छ । यस निबन्धसङ्ग्रहमा वर्तमान आमा हजुरआमा पुस्ताले भोगेको लैङ्गिक विभेदविरुद्ध आवाज बुलन्द गरिएको छ । यसका साथै समाज परिवर्तनका लागि चेतनामा परिवर्तन हुनुपर्ने, व्यवहारमा परिवर्तन हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।
एक सय साठी पृष्ठको यस कृतिमा जम्मा अठ्ठार वटा निबन्धहरू सङ्कलित छन् ।

लेखकले विभेदपूर्ण परम्पराप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई अग्रगामी सोचका लागि हौसला प्रदान गर्नुपर्ने दायित्व बोकेको अहिलेको आमा पुस्तालाई तुइनको बीचमा रहेको व्यक्तिको विम्बका रूपमा हेरेकी छन्, जुन वारि फर्कन पनि सक्दैन र पारि जान पनि सक्दैन ।

अर्को किसिमबाट हेर्दा यो पुस्ता हजुरआमा, हजुरबा र छोराछोरीलाई जोड्ने पुलका रूपमा अर्थ्याउन सकिन्छ । लेखक कृतिको भूमिकामा भन्छिन्, “समयरूपी खोला तार्ने तुइनमा न यताको न उताको जिन्दगी बाँच्न मेरो पुस्ताका नारी अभिशप्त छौँ । हामीलाई यो सामाजिक परिपाटीको एउटा किनार छाड्नु पनि छैन, अर्को किनारमा नजानु पनि छैन, झिनो तुइनमा झुन्डिएको न यता न उताको जिन्दगी अचेल हाम्रो नियति बनिरहेको छ ।”

यसरी हेर्दा पुरातन सभ्यतालाई परिष्कृत गरेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने सद्प्रयास गरिएको यो कृतिको शीर्षक सार्थक देखिन्छ ।

सानैदेखि साहसी र निडर स्वभावकी सोलु आफूले देखे सुनेका भोगेका लैङ्गिक विभेदविरुद्ध कडा रूपमा प्रस्तुत हुन्थिन् । आफू जन्मिँदा पछुताएका हजुरबाका कुरा सुन्दा उनलाई साह्रै चित्त दुख्छ । यसैले उनलाई छोराले गर्ने हरेक कुरा आफूले पनि गरेर देखाउँदै छोरी पनि हरेक कामका लागि सक्षम छन् भनेर प्रमाणित गर्नु छ । आँट साहसकी प्रतिमूर्ति उद्देश्यमा दृढ सोलु छोरीलाई एक्लै दुक्लै घरबाट टाढा जान नदिने तत्कालीन समयमा घर छाडेर एक्लै निस्किन्छिन् र पाँच दिन लगाएर झापा फुपूकहाँ पुगी ट्युसन पढेर छाड्छिन् । त्यतिमात्र कहाँ हो र ! त्यहाँ आफ्नै बलबुतामा पैसा कमाएर घर फर्कँदा लाहुरेझैँ फर्कन्छिन् ।

‘लाहुरे भएर फर्किँदा’ भन्ने निबन्धमा यिनै कुराको रोचक वर्णन छ । मान्छेको भोगाइ र अरूको सोचाइमा आकाश र जमिनको फरक हुने कुराको मार्मिक वर्णन ‘कुमारीको भुँडी’ भन्ने निबन्धमा गरिएको छ ।

नकारात्मकताले गाँजेको हाम्रो समाजमा डा. इन्दिरा सत्यालजस्ता मानवताको भावना भएका व्यक्तिहरूको पनि कमी छैन भन्ने कुरा यो निबन्धले बोलेको छ । ‘एउटी युवतीको जोखिमपूर्ण यात्रा’, ‘बुवा हुनुहुन्छ, बुवा हुनुहुन्न’, ‘प्राण नै सबैथोक’ भन्ने निबन्धहरूमा भर्खर आईए पढ्न काठमाडौं आएकी युवतीले विरामी बुवाको लठ्ठी बनेर कसरी जिम्मेवारी पूरा गरिन् भन्ने कुराहरू मन छुने किसिमबाट वर्णन गरिएको छ ।

लेखक पुराना विभेदयुक्त परम्परा र मान्यताहरू भत्काउन चाहन्छिन् । विवाहमा बेहुलीले प्राप्त गरेका सौभाग्यका प्रतीकहरू श्रीमान्‌सँगसँगै सकिएको कुरा उनलाई चित्त बुझ्दैन । सौभाग्यको रक्षा गर्ने भनिएका त्यस्ता वस्तुले नारीको रक्षा गर्दैनन् भन्ने उनको ठहर छ । नारी सुरक्षित हुन, आत्मनिर्भर हुन बाहिरी होइन, भित्री गहना (ज्ञान) को आवश्यकता पर्छ । नारीले आफ्नो श्रमलाई पुँजीमा बदल्नुपर्छ तबमात्र नारी सुरक्षित हुन्छन् भन्ने धारणा ‘सती जाने सौभाग्यहरू’ भन्ने निबन्धमा प्रस्तुत गरिएको छ ।

प्रकृतिबाट सन्तान जन्माउने गौरवमय जिम्मेवारी प्राप्त गरेकी महिलाले सोही अवस्थामा अपमान र तिरस्कार भोग्नुपरेको देखेर लेखकलाई असह्य भएको छ । यस संवेदनशील घडीमा महिलाले घर परिवार समाज र राज्यबाट विशेष सुविधा प्राप्त गर्नुपर्छ भन्ने धारणा लेखकले ‘भुँडीको मर्म’ भन्ने निबन्धबाट व्यक्त गरेकी छन् । छोरालाई महत्त्व दिने र छोरीलाई पराइ ठान्ने हाम्रो सामाजिक दृष्टिकोण परिवर्तन हुनुपर्छ भन्ने लेखकको विचार छ । यही धारणालाई चिर्न उनी बुवाआमालाई बाँचुन्जेल सेवा गरी मृत्युपछि सन्तानले गर्ने कर्ममा पनि सरिक बन्छिन् । बुवा-आमाप्रति छोरा र छोरीको कर्तव्य बराबर हुने कुरा ‘म छोरी हुँ छोरी’ भन्ने निबन्धमा बताइएको छ ।

हाम्रो समाजमा सासू र बुहारीको नातालाई अप्ठ्यारो अवस्थामा उभ्याउँदै आइएको छ । सासू बुहारीलाई प्रतिद्वन्द्वीका रूपमा अर्थ्याउँदै आइएको छ । यो धारणालाई परिवर्तन नगरी सुखी परिवार बन्दैन, सभ्य समाज बन्दैन भन्ने लेखकको दृष्टिकोण छ । छोरी र बुहारी समान नै भएकाले दुबैलाई स्नेहयुक्त वातावरण खडा गरे परिवार सुन्दर बन्छ भन्ने सन्देश ‘के छोरी के बुहारी’ भन्ने निबन्धले दिएको छ । रजोनिवृत्तिको बेला महिलामा देखिन सक्ने असहजताहरूको चर्चा गर्दै यसबाट मुक्त हुन गर्नुपर्ने प्रयासका बारेमा रजोनिवृत्तिको असर भन्ने निबन्धमा सुझाइएको छ ।

विशेषतत: परिवारका सदस्य खासगरी श्रीमान्‌ले उसका समस्याहरू बुझेर व्यवहार गर्नुपर्ने कुराको सन्देश यो निबन्धले दिन्छ । दुई जनाको बराबर भोगको अवस्था नै सम्भोग हो । यदि भावनात्मक रूपमा एकाकार हुन नसकेको अवस्थामा यस्तो सम्बन्ध सम्भोग नभई बलात्कार हुन पुग्छ । यसैले विवाहित जोडीले यस्तो अवस्थाबाट बच्न आफ्नो व्यवहारमा सुधार गर्नुपर्छ, एक अर्काको सुख-दु:खमा साथ दिनुपर्छ भन्ने सुझाव बैवाहिक बलात्कार भन्ने निबन्धले दिन्छ ।

आफ्नो जीवनमा पिता, पति र पुत्रको साथले आफूले प्रगति गरेको कुरा बताउँदै समाज नै नारीमैत्री भइदिए नारीहरूले कति उन्नति गर्दा हुन् भन्ने जिज्ञासा ‘सम्बन्धका तीन आयाम’ भन्ने निबन्धमा राखिएको छ । शोकमग्न यात्री र टिष्टा अब हाम्रो आमाघर भन्ने निबन्धमा आमासँग जोडिएका संवेदनाहरू तरल रूपमा प्रस्तुत गर्दै कालेम्पोङमा नेपाली समुदायमा भएको सामाजिक सुव्यवस्थाका बारेमा चर्चा गरिएको छ ।

लेखकले आफू जन्मेर अलिकति कुरा बुझ्ने भएदेखि नै महिला र पुरुषमा विभेद भएको देख्दै भोग्दै आएकी थिइन् । लेखकले यस विभेदकारी मान्यताविरुद्ध आवाज उठाउँदै आइन् । वास्तवमा उनले सबै मानिस समान हुन् । सबैको मानवीय संवेदना उस्तै हो । सबैलाई भोक लाग्छ, थकाइ लाग्छ । सबैका इच्छा आकाङ्क्षाहरू उस्तै हुन् । त्यसैले सबै मानवको अस्तित्वलाई समान रूपले सम्मान गर्नुपर्छ भन्ने मानवतादी विचार व्यक्त गर्दै आएकी थिइन् । उनले कहिले वंशावलीमा छोरीको नाम समावेश गर्नुपर्छ भन्ने तर्क राख्छिन् त कहिले आमाको नामबाट नागरिकता दिनुपर्ने अडान राख्छिन् । उनी कहिले गर्भ धारण गरेकै आधारमा जागिर खोसिएकी महिलालाई जागिर दिलाउन लागि पर्छिन् । उनी कहिले महिलाहरूलाई राज्यको मूल धारमा ल्याउनुपर्ने कुरामा बहस गर्न अग्रसर हुन्छिन् ।

तर विडम्बना उनी मानवतावादी नठहरिएर नारीवादी ठहरिन्छिन् । यसरी अन्यायविरुद्ध आवाज उठाउँदा नारीवादीको बिल्ला भिर्नुपरेको गुनासो लेखकले ‘म नारीवादी’ निबन्धमा व्यक्त गरेकी छन् । शोषित पीडित महिलाहरूको पक्षमा आवाज उठाउँदै आएकी सोलुले धेरै पाठकहरूको मन जित्दै आएकी छन् । स्पष्ट वक्ताका रूपमा देखा परेकी उनी अन्यायविरुद्ध बोलिहाल्छिन् । कोही रिसाउँछ कि भनेर यता पनि ठिक्क पार्ने, उता पनि ठिक्क पार्ने र चोचोमोचो मिलाउने प्रवृत्ति उनमा देखिँदैन । शोषित पीडितका पक्षमा आवाज उठाएर उनी कहिल्यै थाक्दिनन् ।

उनी कतिपय महिलाको दुःख बिसाउने चौतारी बनेकी छन् । ‘शङ्काको आगो’ यसै प्रसङ्गको निबन्ध हो । यस निबन्धमा अनावश्यक रूपमा श्रीमतीलाई शङ्का गरेकै कारण एक जोडीको जीवन नरकजस्तो भएको दुखद् यथार्थलाई पस्कँदै साँच्चै एक अर्कालाई विश्वास गर्न सकिँदैन भने बरू छुट्टै बसेर जीवन निर्वाह गर्दा सहज हुने विचार यस निबन्धमा व्यक्त गरिएको छ । ‘सम्बन्धको सौन्दर्य’ भन्ने निबन्धमा अहिले समाज परिवर्तन हुँदै आएको, कमसेकम नयाँ पुस्तामा चेतनाको लहर आएको कुरा उल्लेख गरिएको छ । आजकल श्रीमान् श्रीमति सँगै मिलेर घरको काम गर्ने, एकले अर्काको अस्तित्वलाई समान रूपमा स्वीकार गर्ने परम्परा विकास हुन थालेकामा लेखकले सन्तोष व्यक्त गरेकी छन् । जीवनमा घटेका घटना, जीवनका भोगाइ तथा अनुभूतिहरूको सिलसिलाबद्ध प्रस्तुति नै संस्मरण हो ।

संस्मरणमा बढाइचढाइ लेखिएको अनावश्यक रूपमा आफ्नो प्रशंसा गरिएको हुनसक्छ । यस कृतिलाई नियाल्दा लेखकले इमान्दार भएर लेखेको अनुभूति मलाई भएको छ । यो पुस्तक पढिसक्दा छोरीले पनि छोरालेझैँ अथवा त्योभन्दा राम्रोसँग घरको जिम्मेवारी सम्हाल्न सक्छन् । बुवा आमा वृद्ध हुँदा लठ्ठी बनेर उनीहरूलाई सहारा दिन्छन् र मृत्युपछिका कर्म पनि छोरीबाट हुनसक्छ भन्ने उदाहरण पेस गरेकी लेखकले आफ्नो कर्मघरका बुवाआमाप्रतिको जिम्मेवारी कसरी निभाइन् होला ? ती कुराहरू यस कृतिमा किन समावेश गरिएन होला भन्ने जिज्ञासा ममा पैदा भयो । आशा छ, लेखकबाट एउटा निबन्ध यसै विषयमा केन्द्रित भएर आउनेछ ।

अन्त्यमा अन्यायविरुद्ध कडा रूपमा प्रस्तुत हुने रेणुका सोलु एक जुधारु लेखक हुन् । उनी कोही कसैबाट पीडित नहुने समतामूलक समाजको निर्माण गर्न चाहन्छिन् । यस कृतिमा एक आपसमा सद्भाव भएन भने त्यो नाम मात्रको सम्बन्ध हुन्छ भन्दै एक अर्काको भावनाको कदर गर्दा सुख-दु:खमा साथ दिँदा मात्र सम्बन्ध सुमधुर हुने कुरा उल्लेख गरिएको छ ।

यस कृतिमा कोही कसैलाई महिला र पुरुष नभनी एउटा सिङ्गो मानिसका रूपमा, छोराछोरीलाई नितान्त सन्तानका रूपमा हेर्नुपर्ने विचार अगाडि सारिएको छ । यहाँ महिलाका समस्या व्यक्तिका निजी समस्या नभएर ती राष्ट्रकै समस्या भएकाले नीति निर्माण तहमा त्यसको सम्बोधन हुनुपर्ने कुरा बताइएको छ । यसका साथै समाज परिवर्तन गर्नलाई हाम्रो आचरण व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ भन्ने उदाहरण पेस गरिएको छ ।

यस कृतिमा जीवनलाई सङ्घर्षका रूपमा स्वीकार गर्दै सङ्घर्ष गरेर स्वावलम्बी हुन, पारिवारिक दायित्व राम्ररी निभाउन तथा सामाजिक परिवर्तनका लागि भूमिका निभाउन प्रेरित गरिएको छ । विचारका दृष्टिले सबल यो कृति पठनीय र सङ्ग्रहणीय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved