मार्दी हिमाल आरोहणका क्रममा बेपत्ता गाइड मृत भेटिए

नेपालभ्युज

मार्दी हिमाल आरोहणका क्रममा बेपत्ता गाइड मृत भेटिए

कास्की । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मार्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङ मृत फेला परेका छन् ।

मार्दी आरोहणका लागि काठमाडौंको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मार्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मार्दीको पाँच हजार ३०० मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मार्दी आधार शिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

उद्धार टोलीमा लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका थिए । अन्य टोली भने मर्दी हाइक्याम्पमा रहेका छन् ।

“भिरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर सुरक्षित राखेर उद्धार टोली फर्किएको छ, उहाँहरूका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन, हेलिकप्टरबाट ल्याउनुको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भने ।

मार्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेर हराएको जानकारी दिएपछि उद्धारका लागि मङ्गलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मार्दीको हाइक्याम्प पुगेका थिए ।

टोलीले सुरुमा हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए ।

मार्दीको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या भएको बताइन्छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved