खोटाङमा आगलागी : घर र मतान जल्दा ११ लाखभन्दा बढीको क्षति

नेपालभ्युज

खोटाङमा आगलागी : घर र मतान जल्दा ११ लाखभन्दा बढीको क्षति
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा शनिबार दिउँसो आगलागी हुँदा ११ लाख चार हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको एउटा घर, एउटा मतान, घरभित्र भएका १० हजार नगद, दुई तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, कागजपत्र, अन्नपातलगायत जलेर नष्ट भएको हो ।

नेपाल प्रहरीका पूर्वहबल्दारसमेत रहेका गुरुङका दुईवटा घरमध्ये फुसको छाना भएको तीनतले एउटा घर र फुसकै छाना भएको तीनतले नै एउटा मतान आगलागीमा जलेर नष्ट भएको जनाइएको छ । दिउँसो करिब साढे ३ बजे सुरु भएको आगो स्थानीयवासी र प्रहरीको टोलीले साँझ साढे ७ बजेमात्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

फुसको छाना तथा ढुङ्गामाटो र काठ प्रयोग गरेर निर्माण गरिएको घरमा आगलागी भएका कारण निभाउन धेरै समय लागेको आगलागी नियन्त्रणमा सहभागीले स्थानीयले बताएका छन् । दिउँसोको समयमा आगलागीका घटना भएकाले मानव र पशुचौपायालाई भने सुरक्षित गर्न सकिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट भएपछि गुरुङ परिवार चिन्तित बनेका छन् । आगलागीपीडित गुरुङ परिवार अहिले आफ्नै अर्को जस्तापाताको छाना भएको घरमा बसिरहेको प्रहरी चौकी डुम्रेधारापानीका हबल्दार ओमकुमार राउतले जानकारी दिए । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved