काठमाडौं । भनिन्छ— अमेरिकी मतदाताले बरु अर्को ग्रहबाट आएको ‘एलियन’ लाई भोट देलान् तर, दुई ठूला पार्टी रिपब्लिकन र डेमोक्रे्ट्सलाई छोडेर तेस्रो वा स्वतन्त्र उम्मेदवारलाई भोट दिँदैनन् ।
यो भनाइ यसपटकको राष्ट्रपतीय निर्वाचनमा फेरि एकपटक पुष्टि भएको छ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् भने डेमोक्रे्टिक उम्मेदवार कमला ह्यारिसले कडा टक्कर दिएकी छन् ।
अन्य दलका उम्मेदवारको खासै चर्चा छैन । तर, निर्वाचन मैदानमा अन्य दल र स्वतन्त्र उम्मेदवार पनि थिए । राष्ट्रपतिका लागि रोवर्ट केनेडीसहित ७ स्वतन्त्र उम्मेदवार थिए ।
रोवर्ट प्रसिद्ध राष्ट्रपति जोन. एफ. केनेडी परिवारका सदस्य हुन् । उनी डेमोक्रे्टिक पार्टीमा थिए । यसपटकको निर्वाचनमा पार्टीको उम्मेदवार हुन चाहन्थे । उनी जो बाइडन र कमला ह्यारिससँग असन्तुष्ट थिए । त्यसैले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्वाचनको केही दिन बाँकी रहँदा उनले आफ्नो उम्मेदवारी फिर्ता गरेर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरे । तर, केनेडीको नाममा भोट भने आएको छ । उनी अहिलेसम्मको गणनामा ६ लाख ३७ हजार ७०० मत प्राप्त गरेर चौथो स्थानमा छन् ।
स्वतन्त्र उम्मेदवारमध्ये केनेडीपछिको दोस्रो मत भारतीय मूलका शिव यइयादुराईले पाएका छन् ।
दुई ठूला दललाई छोडेर अन्य १२ दलका उम्मेदवार चुनावी मैदानमा थिए । ग्रीन पार्टीकी जिल स्टेन, लिबरिटारियन पार्टीका चास अलिभर, पार्टी फर सोसलिज्म एन्ड लिबरेसनकी क्याउडिया डेला क्रुज, जस्टिस फर अल पार्टीका कोर्नेल वेष्ट, कन्स्टिच्युसन पार्टीका रान्ड्रल फेरी, सोसलिष्ट वकर्स पार्टीका रचेल फ्रुइट, लिबरल पार्टीकी लाउरा एबुक, सोलिडारिटी पार्टीका पिटर सोन्स्की, सोसलिष्ट पार्टीका बिलियम स्टोडेन, प्रोहिविसन पार्टीका मिचेल उड र कन्जर्भेटिभ पार्टीका वर्मिन सुप्रिमले चुनाव लडेका थिए ।
ग्रीन पार्टीका उम्मेदवार जिल स्टेनले ट्रम्प र ह्यारिसपछि तेस्रो स्थान हासिल गरेकी छन् । अहिलेसम्मको गणनामा उनले ६ लाख ५९ हजार ४५२ मत प्राप्त गरेकी छन् ।
सन् १९८५ मा गठन भएको ग्रीन पार्टीले सन् १९९६ यताका सबै चुनावमा उम्मेदवारी दिँदै आएको छ । सन् २००० को चुनावमा ग्रिन पार्टीका उम्मेदवार राल्फ नादेरले करिब २९ लाख मत पाएका थिए । यो पार्टी इतिहासको सबैभन्दा धेरै मत हो ।
पाँचौँ स्थानमा लिबरिटारियन पार्टीका चेस ओलिभर छन् । सन् १९७१ मा स्थापना भएको यो पार्टीले सन् १९७२ देखि राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन थालेको हो । यसका गेरी जोन्सनले सन् २०१६ को चुनावमा पार्टी इतिहासको सबैभन्दा धेरै करिब ४५ लाख मत पाएका थिए ।
अहिलेसम्मको गणनामा यसपटकका लेबरिटारियन उम्मेदवार ओलिभरले ५ लाख ८६ हजार ७३० मत पाएका छन् ।
जस्टिस फर अल पार्टीका उम्मेदवार प्रोफेसर डा. कोर्नेल वेष्टको चर्चा अनुरूपको भोट देखिँदैन । क्लाउडिया डेला क्रुजको पार्टी फर सोसलिज्म एन्ड लिबरेसन मार्क्सवाद-लेनिनवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टी हो ।
अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पाएको अहिलेसम्मको मत ३ लाख ३५ हजारको हाराहारीमा छ ।
दुई ठूला दलबाहेकका सबै दलीय र स्वतन्त्र उम्मेदवारले पाएको कुल मत २२ लाख भन्दा केही बढी हुन्छ । तर, यो कुल गणना भएको मतको १.५ प्रतिशत मात्र हो । ९८.५ प्रतिशत मत दुई ठूला दलका दुई उम्मेदवार ट्रम्प र ह्यारिसबीच नै बाँडिएको छ ।
अहिलेसम्म ट्रम्पले ७ करोड ३४ लाख र ह्यारिसले ६ करोड ९१ लाख हाराहारीमा पपुलर मत पाएका छन् ।
अमेरिकामा प्रभावशाली तेस्रो दल विकसित हुने सम्भावना यसपटकको निर्वाचनले पनि देखाएन । तर, ग्रीन र लिबरिटारियन पार्टीले सबै जसो प्रदेशबाट मत पाएर राष्ट्रिय आकार लिएको देखिन्छ ।
कतिपय अमेरिकी राज्यमा ‘नन अफ द एभोव’ (नोटा) मा भोट गर्न पाइन्छ । तर, सबै राज्यमा यो सुविधा छैन । यसपटकको निर्वाचनमा यस्तो मतदान नगन्य भएको छ ।
अर्कोतिर ‘राइट-इन्स’ अधिकार अमेरिकी निर्वाचन प्रणालीको रोचक प्रावधान हो । यस प्रावधानअनुरूप मतदाताले मतपत्रमा नाम नभएका व्यक्तिलाई नाम लेखेर भोट दिन सक्दछन् । यसरी पाएको व्यक्तिको भोट उम्मेदवार सरह गणना गर्नुपर्ने हुन्छ । यस्तो मत पनि नोटा जस्तै नगन्य देखिएको छ ।
मतदाताको ‘राइट-इन्स’ अधिकारको कारण उम्मेदवारको अन्तिम सङ्ख्या मत गणना सम्पन्न भएपछि मात्र यकिन हुन सक्दछ ।
निर्वाचक मण्डलमा आधारित निर्वाचन प्रणालीको कारण तेस्रो दलको विकास हुन नसकेको राजनीतिशास्त्रीको भनाइ छ । यो प्रणाली रहुन्जेल तेस्रा दल र स्वतन्त्र उम्मेदवार ‘एलियन’ नै मानिनेछन् ।
Facebook Comment
Comment