अमेरिकामा चुनाव अगावै ७ करोड ५० लाखभन्दा बढीले गरे मतदान

नेपालभ्युज

अमेरिकामा चुनाव अगावै ७ करोड ५० लाखभन्दा बढीले गरे मतदान

काठमाडौं । अमेरिकामा ४७ औं राष्ट्रपति निर्वाचनको मतदान सुरु हुन अब केही घन्टा मात्रै बाँकी छ । तर, त्यसअघि नै ७ करोड ५० लाखभन्दा बढी नागरिकले मतदान गरिसकेका छन् ।

यस प्रकारको मतदान सुविधालाई ‘अर्ली भोटिङ’ भनिन्छ । चुनावको दिन मतदान केन्द्रसम्म पुग्न असमर्थ मतदाताले कारण खुलाएर अगाडि नै यो सुविधा प्रयोग गर्न सक्दछन् ।

‘अर्ली भोटिङ’ सुविधा सबैभन्दा धेरै नर्थ क्यारोलिना राज्यका मतदाताले प्रयोग गरेका छन् । यहाँ करिब ४५ लाखले मतदान गरिसकेका छन् । यस्तो सुविधा प्रयोग गर्ने दोस्रो राज्य जर्जिया भएको छ । जर्जियामा ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् ।

तेस्रो स्थानमा रण मैदान राज्य मानिएको पेन्सिल्भेनिया छ । यहाँ १७ लाखभन्दा बढीले मतदान गरिसकेका छन् । यसपटकको निर्वाचन परिणाम धेरै हदसम्म यस राज्यको मतदान प्रवृतिमा निर्भर गर्ने अनुमान छ ।

टेक्सासमा करिब ९ लाख मतदाताले आर्ली भोटिङ गरेका छन् । ५० मध्ये ९ राज्यमा ५० प्रतिशतभन्दा बढी ‘अर्ली भोटिङ’ भइसकेको छ ।

यति धेरै अर्ली भोटिङ भएको यो इतिहासमै पहिलो पटक हो । यो सन् २०२० को चुनावमाभन्दा करिब ४७ प्रतिशतले बढी हो ।

यसपटकको निर्वाचनका लागि करिब २४ करोड ४० लाख मतदाता दर्ता भएका छन् । मतदान मंगलबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म हुनेछ ।

सन् २०१६ मा करिब ६० प्रतिशत र सन् २०२० मा करिब ६६ प्रतिशतले मतदान गरेका थिए । यसपटक पनि ६० प्रतिशत बढी मतदान हुने अपेक्षा छ ।

यसपटकको निर्वाचनका लागि ७ ‘स्वीङ स्टेट’ एरिजोना, जर्जिया, मिचिगन, पेन्सेल्भेनिया, नेभादा, नर्थ क्यारोलिना र विस्किन्सन हुने ठानिएको छ । यीमध्ये सबैभन्दा धेरै निर्वाचक मण्डल संख्या पेन्सेल्भेनियासँग १९ रहेको छ ।

एरिजोना–११, नर्थ क्यारोलिनसँग १६, नेभादा– ६, जर्जिया–१६, मिचिगन–१५, विस्किन्सनसँग १० निर्वाचन मण्डल संख्या छ ।

५३८ निर्वाचक मण्डलमध्ये राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित हुन २७० संख्या चाहिन्छ । यीमध्ये स्वीङ स्टेटमा मात्र ९३ संख्या छ । यो विजय हासिल गर्न चाहिने २७० को करिब ३५ प्रतिशत हो ।

अमेरिकी चुनावमा यसपटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved