तीन महिनामा १२ करोडको ४० लाख गड्डी तास भित्रियो, तर खेल्न किन प्रतिबन्ध ?

पछिल्लो एक महिनामा मात्रै ३६० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । यो वर्षको साउनदेखि असोजसम्म तीन महिनामै नेपालमा करिब ४० लाख गड्डी तास आयात हुँदा करोडौँ रुपैयाँ राजस्व उठेको छ । अब प्रश्न उठ्छ – खेल्न त रोक लगाउने, तर यसरी भारी परिमाणमा तास भित्र्याउने आखिर किन ?

नेपालभ्युज

तीन महिनामा १२ करोडको ४० लाख गड्डी तास भित्रियो, तर खेल्न किन प्रतिबन्ध ?

काठमाडौं । तिहार सुरु भएसँगै पुलिसले देशभरि तास खेल्नेहरूमाथि चर्को कडाइ गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै ३६० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

तर, अर्को रोचक तथ्य के छ भने, यो वर्षको साउनदेखि असोजसम्म तीन महिनामै नेपालमा करिब ४० लाख गड्डी तास आयात हुँदा करोडौँ रुपैयाँ राजस्व उठेको छ ।

अब प्रश्न उठ्छ – खेल्न त रोक लगाउने, तर यसरी भारी परिमाणमा तास भित्र्याउने आखिर किन ?

भन्सार विभागको आँकडाले देखाएको छ कि तीन महिनामा मात्रै नेपालले १२ करोडभन्दा बढीको तास आयात गरेको छ, जसबाट झन्डै ७ करोड रुपियाँको राजश्व उठेको छ ।

विशेष गरी चीन, भारत, अमेरिका, र बेलायतबाट आयात हुने तासको मूल्य दशैँ र तिहारको समयमा झनै बढ्ने गरेको छ ।
यसबाट नेपालको राजश्वमा तासको हिस्सा उल्लेखनीय बनेको देखिन्छ । तर, कानुनको कठोरताले तास खेल्न नदिने हो भने, राज्यले तास भित्र्याएर किन आम्दानी लिँदै छ ?

कस्तो छ कानुन ?

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न र खेलाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ । पहिलो पटक जुवा खेल्न समातिएमा तीन महिनासम्मको कैद र ३० हजार रुपियाँ जरिवाना हुने प्रावधान छ । यस कारण, विशेष गरी चाडपर्वको समयमा प्रहरीले तास खेल्नेहरूमाथि सघन निगरानी बढाउँछ ।

प्रहरी अधिकारीहरूको भनाइमा, ‘जुवातासले समाजमा विकृति फैलाउने भएकाले यसको नियन्त्रण गरिएको हो । कानुनको पालना गर्दै कारबाही गर्दा हामीले तास खेल्न नदिने अभियानलाई प्राथमिकतामा राखेका छौँ ।’ तर, पुलिसको यो अभियान र सरकारको तास आयातले अनौठो विरोधाभास खडा गरेको छ ।

तास आयात किन खुला ?

आर्थिक तथ्यांकले देखाउँछ कि पछिल्लो पाँच वर्षमा नेपालले झन्डै २ अर्ब २३ करोड रुपियाँ बराबरको तास आयात गरिसकेको छ, जसबाट सवा एक अर्बभन्दा बढी राजश्व उठेको छ ।

भन्सारमा तासको आयातलाई छुट्टै ढाँचा लागू गरिएको छ । भारत र सार्क देशबाट ल्याउँदा ३३.३१ प्रतिशत कर लाग्छ भने चीनबाट ल्याउँदा ६१.५९ प्रतिशत कर लाग्छ ।
तर, सरकारले तास आयातमा त ध्यान दिएको छ, तर खेल्न नपाइने व्यवस्था कायम छ ।

विरोधाभासको विडम्बना

तासलाई नेपाल भित्र्याएर राजश्व त बटुल्ने तर, त्यही तास खेल्दा कानुनी जोखिममा पार्ने यो अवस्थामा धेरैलाई प्रश्न उठ्नु स्वाभाविक हो ।

‘यदि खेल्न नपाउने हो भने सरकारले तास भित्र्याउनुको कारण के ?’ यो प्रश्नले नेपालका नीति निर्मातालाई घच्घच्याइरहेको छ ।

दशैँ र तिहारजस्ता चाडपर्वका समयमा नेपाली समाजमा तास खेल्न प्रचलन छ । हरेक वर्ष जस्तै यसपालि पनि तास खेल्नेहरूको जमात देशभरि भेटिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved