काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको जनाएको छ । जसमा दुई बालबालिका पनि छन् ।
यो क्षेत्र हिजबुल्लाहको गढ हो । स्वास्थ्य मन्त्रालयकाअनुसार उपत्यकाका १२ स्थानमा भएका आक्रमणमा ५८ जना घाइते भएका छन् ।
यद्यपी इजरायली सेनाको तर्फबाट यस आक्रमणको कुनै प्रतिक्रिया आएको छैन ।
गत पाँच हप्तामा इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हजारौं हवाई आक्रमण गरेको छ । यसले हिजबुल्लाहका आधार, पूर्वाधार र हतियारलाई लक्षित गरेको बताएको छ ।
इजरायल र प्यालेस्टिनी समर्थक हिजबुल्लाहबीच अक्टोबर ८, २०२३ देखि लेबनानको सीमानामा द्वन्द्व चलिरहेको छ । यसदिन लेबनानी सशस्त्र समूह हिजबुल्लाहले लेबनानसँग जोडिएको उत्तरी इजरायलमा रकेट प्रहार गरेको थियो ।
त्यसको एक दिनअघि अक्टोबर ७, २०२३ मा हिजबुल्लाहको सहयोगी हमासले दक्षिणी इजरायलमा ठूलो हमला गरेको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा लेबनानमा इजरायली हमलामा २६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन् ।
Facebook Comment
Comment