श्रीमतीको रिसले सिंहको मूर्ति फुटाउँदा जेलको यात्रा

सीसीटीभी फुटेजमा देखिएको भिडिओको आधारमा उनले क्षति गरेको भेटिएको थियो । पक्राउ परेपछि उनले श्रीमतीसँग झगडा परेको रिसमा मूर्तिमा लात्तिले हानेको स्विकारेका छन् ।

नेपालभ्युज

श्रीमतीको रिसले सिंहको मूर्ति फुटाउँदा जेलको यात्रा
सांकेतिक स्केच

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १५ विजेश्वरी मन्दिर परिसरमा रहेको १०० वर्ष पुरानो सिंहको मूर्ति फुटाउने युवाविरुद्ध प्राचीन स्मारक संरक्षण ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

विजेश्वरी मन्दिरको परिसरमा रहेको मूर्ति फुटाउने लमजुङ मर्स्याङ्दी ६ बाहुनडाँडाका २३ वर्षका मनोज थापाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

१०० वर्ष भन्दा पुरानो रहेको विजेश्वरी मन्दिरको मूल गेटमा रहेको सिंहको मूर्ति भदौ २० गते राति उनले लात्तिले हानेर फुटाएका थिए ।

सीसीटीभी फुटेजमा देखिएको भिडिओको आधारमा उनले क्षति गरेको भेटिएको थियो । पक्राउ परेपछि उनले श्रीमतीसँग झगडा परेको रिसमा मूर्तिमा लात्तिले हानेको स्विकारेका छन् ।

हजारौँ हिन्दु तथा बौद्ध धर्मावलम्बी मानिसहरूको धार्मिक आस्था समेत रहेको सिंहको मूर्ति क्षति बनाई हिन्दु तथा बौद्ध धर्मावलम्बी मानिसहरूको धार्मिक आस्थामा आघात पुर्‍याउने कार्य गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारबाही र सजाय गर्न माग गर्दै पुरातत्त्व विभागले समेत प्रहरीलाई पत्र लेखेको थियो ।

मूर्ति पुनस्थापनाका लागि आवश्यक क्षतिपूर्ति समेत भराउन माग गर्दै वडा नम्बर १५ परिसरमा बस्ने स्थानीयले मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । पाँच लाख क्षतिपूर्ति र पाँच वर्ष जेल सजायको माग दाबी गर्दै मुद्दा दायर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved