काठमाडौं । नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्नै इच्छाले जग्गा दान दिएको प्रष्टीकरण दिएको छ ।
गुरुङले दान गरेको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेको विषयमा चर्को आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कुनै लेनदेनविना स्वेच्छाले दान दिएको विषयमा भ्रम फैलाइएको बताए ।
गौतमले भने, ‘तथ्य के हो, एकजना दानवीर मिनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा एमालेको केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो । तथ्य नबुझी बदनाम नगरौं ।’
पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको उनको भनाइ छ ।
यसले पार्टी सदस्यको अपमान नभएको गौतमको दाबी छ । ‘पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो ? सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं’ उनले भने ।
गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने भएपछि यसको चर्को विरोध भइरहेको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले राजनीतिक दलले कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको बताएकी थिइन् ।
Facebook Comment
Comment