काठमाडौं । अहिले दशैंका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।
अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ ।
सानो सवारी साधन चलाउन यो बाटो सजिलो हुने अहिले यात्रा गरिरहेका सञ्चार उद्यमी धर्मेन्द्र सापकोटा बताउँछन् ।
उनले भने, ‘सानो सवारीको लागि एकदम सजिलो रहेछ । पिचैपिच रहेछ । कहीँकतै साना खाल्टाखखुल्डी छन्, तर त्यती अफ्टोरो र जोखिमयुक्त होइनन् ।’
नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेका छन् ।
सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिरिँदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प रहेको कतिपय यातायात व्यवसायी बताउँछन् ।
अहिले उक्त सडकको प्रयोग गर्ने बढेपनि दैनिक सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्याङ्क छैन ।
नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ ।
Facebook Comment
Comment