काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् ।
विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् ।
शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।
नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनको भनाइ छ । गाउँबस्ती र सहरी क्षेत्र क्रमशः ‘युवा शक्ति विहीन’ बन्दै गइरहेको बताउँदै उनले आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको बताएका छन् ।
युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै गरेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘रोजगारीको निमित्त बिदेसिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ ।’
नेपाल ‘शान्त राष्ट्र’ को रूपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने आफ्नो मान्यता र आग्रह रहेको पूर्वराजा शाहले बताएका छन् । उनले भनेका छन्,’ ‘यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखा परेको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ ।’

Facebook Comment
Comment