माओवादीको ‘स्थानीय उपनिर्वाचन रणनीति’ : कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य

नेपालभ्युज

माओवादीको ‘स्थानीय उपनिर्वाचन रणनीति’ : कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले तल्ला कमिटीलाई ‘विशेष परिपत्र’ पठाएको छ । पार्टीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा विशेष परिपत्र गरेको हो ।

परिपत्रमा उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्न भनिएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल भन्छन्, “उपनिर्वाचन आफ्नै तागतमा लड्ने तयारी गर्नु भन्ने परिपत्रको सार हो ।”

तर, सरकारमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सँग भने सहकार्य नगर्ने नीति माओवादीले लिएको छ । “सत्तारूढबाहेक अरु दलसँग भने सहकार्य गर्ने भन्ने नीति छ,” सचिव ढकालले भने, “गठबन्धन होइन है, सहकार्य मात्रै हो ।”

जे भएपनि मत दिने, मत लिने भन्ने त होनि होइन त ? भन्ने थप जिज्ञासामा सचिव ढकाल भन्छन्, “मत लिने भन्ने हो ।” एक्लै लड्ने भने पनि उपनिर्वाचनमा माओवादीले चुनावी तालमेलका लागि ढोका खुलै राखेको छ ।

त्यसो त अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अबका निर्वाचन एक्लै लड्ने दोहोर्‍याउँदै आएका छन् । त्यसमा अझ २०८४ सालको संसदीय निर्वाचनमा त कुनै पनि दलसँग तालमेल नगर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।

गत असार ३० गते सत्ताबाट ओर्लिएपछि अध्यक्ष प्रचण्डले अबका निर्वाचनहरू माओवादीले एक्लै लड्ने र पुन: २०६४ को चुनावी नतिजातिर फर्किने बताइरहन्छन् । ०६४ सालमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो ।

आगामी मंसिर १६ हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस-एमालेबाहेकका अरु दलसँग चुनावी-सहकार्य गर्ने नीति माओवादीले अवलम्बन गर्न खोजेको छ ।

माओवादीका एक पदाधिकारी कांग्रेस र एमालेबाहेक सबै दलसँग सहकार्य हुनसक्ने बताउँछन् । “दुई जसपा, समाजवादीलगायतका जुनसुकै दलसँग सहकार्य हुनसक्ने भनेका छौँ,” ती नेताले भने ।

  • सम्बन्धित समाचार

०८४ को निर्वाचन एक्लै लड्छौं : प्रचण्ड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved