काठमाडौं । छिमेकी मुलुक चीनले बाढी पहिरो पीडितका लागि प्रदान गर्न राहत सामग्री नेकपा एमाले मार्फत् हस्तान्तरण गरेपछि नेपाली कांग्रेसका नेता डा गोविन्द पोखरेलले प्रश्न उठाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले विपद्का बेला एकद्वार संयन्त्रमार्फत सहयोग लिनुपर्ने भन्दै शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत् एक तस्वीर शेयर गरेका हुन् ।
नेता पोखरेलले शेयर गरेको सन्देशमा सामग्री हस्तान्तरण समारोहमा टाँगिएको ब्यानरसहित ‘चिनियाँ कम्युनिष्टी पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरूलाई बाढी पीडितका लागि राहत सामग्री उपलब्ध गराइएको’ विवरणसहितको तस्वीर उल्लेख छ । तस्वीरमा केही राहत सामग्रीसहित १ करोड ९० लाख ७० हजारको चेक हस्तान्तरण गरिएको तस्वीर पनि समावेश गरिएको छ ।
अरु देशका राजनीतिक दलले कुनै दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोच्न आग्रह गर्दै उनले प्रधानमन्त्री कार्यालयको एक्स ह्याण्डलमा मेन्सन पनि गरेका छन् ।
‘विपद्मा सहयोग स्वागत, तर सहयोग राष्ट्रहितमा एकद्वार संयन्त्रलाई नै चुस्त र पारदर्शी बनाई लिनुपर्छ’ उनले एक्समा लेखेका छन्, ‘अरू देशका राजनीतिक दलले हाम्रा राजनीतिक दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोचौं नत्र भारत, युरोप आदि देशका सयौं दलले हाम्रा दललाई सिधै सहयोग गर्न थाले के होला ?’
Facebook Comment
Comment