इजरायलद्वारा बेरुतमा भीषण हमला

नेपालभ्युज

इजरायलद्वारा बेरुतमा भीषण हमला

काठमाडौं । इजरायलले जारी राखेको बमबारीले बेरुतको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ ।

हिजबुल्लाहलाई लक्षित गरि गरिएको हवाई आक्रमणको क्रममा गएराति त्यस्तो विस्फोट भएको बीबीसीले जनाएको छ ।

आज बिहान हुँदा शहरमाथि धुवाँका मुस्लाहरू देखिन्थे । यसैबीच लेबनानी सेनाले देशको दक्षिणमा आफ्ना दुई सैनिकहरू मारिएको जनाएको छ । सो क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाह विरुद्धको आक्रमण जारी राखेको छ र थप २० शहर र गाउँहरूलाई खाली गर्न आदेश दिएको छ।

यसैबीच इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हाशिम सैफिद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार इजरायली सेनाले बिहीबार बेरुतमा सैफिद्दीनलाई लक्षित गरी आक्रमण गरेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार इजरायली अधिकारीहरूले जमिनमुनि रहेको बंकरमा विमानमार्फत बमबारी गरेका छन् ।

हिजबुल्लाहका उच्च अधिकारीहरू बैठक गर्दै गरेको स्थानमा पनि बमबारीका भएको थियो । समाचारहरुका अनुसार सैफिद्दीन यसमा सहभागी हुने थिए ।

यद्यपी सैफिद्दीन त्यहाँ पुगेका थिए वा थिएनन्, यसको जानकारी प्राप्त भएको छैन। यस आक्रमणमा कति जना मारिए, यसको जानकारी छैन ।

इजरायल रक्षा बल (आइडिएफ) वा हिजबुल्लाहले सैफिद्दीनको मृत्युको बारेमा कुनै जानकारी दिएको छैन । गत हप्ता नसरल्लाहको मृत्यु पछि सैफिद्दीनलाई उनको उत्तराधिकारी मानिएको थियो। उनी नसरल्लाहका मामाको छोरा हुन् ।

सैफिद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्छन्, त्यसैले नसरल्लाह जस्तै कालो पगरी लगाउँछन्। अमेरिकाले उनलाई सन् २०१७ मा आतंकवादी घोषणा गरेको थियो ।

उनी हिजबुल्लाहका राजनीतिक मामिलाहरू हेर्छन् । यसका साथै उनी जिहाद परिषद्का अध्यक्ष पनि हुन्, जसले संगठनका सैन्य अभियानहरूको योजना बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved