झ्याप्ले खोलामै रोकियो जुम्ल्याहा दाजु-बहिनीको यात्रा, अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनको सपना

उनीहरूको यात्रा काठमाडौंका लागि थियो, जहाँबाट उनीहरू बंगलादेश उड्न लागेका थिए । तर, यो यात्रा कहिल्यै पूरा भएन ।

नेपालभ्युज

झ्याप्ले खोलामै रोकियो जुम्ल्याहा दाजु-बहिनीको यात्रा, अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनको सपना

काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दीपेश भट्टराई (१५ वर्ष) र दीपिका भट्टराई (१५ वर्ष) जुम्ल्याहा दाजु-बहिनी थिए ।

कक्षा १० मा अध्ययनरत उनीहरूको सपना एकअर्कालाई साथ दिँदै ठूला अवसरहरू समात्ने थियो ।

गल्याङ नगरपालिका ३, स्याङ्जाका उनीहरू बुटवल बसेर पढ्दै आएका थिए । विद्यालयमा सधैँ उत्कृष्ट नतिजा ल्याउने यी दाजु-बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए ।

दोस्रो चरणको लागि उनीहरू बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो, जुन उनीहरूको जीवनकै महत्त्वपूर्ण क्षण बन्ने थियो ।

शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौंतिर हिँडे । बुटवलबाट छुटेको माइक्रोबस (लु १ ज ४५७८) मा टिकट लिई दीपेश, दीपिका र आमा सीता भट्टराईले यात्रा थालेका थिए ।

उनीहरूको यात्रा काठमाडौं हुँदै बंगलादेशसम्मको थियो । तर, यो यात्रा पूरा भएन । झ्याप्ले खोलामै बिलाए उनीहरूका सपना !

काठमाडौं आइपुग्न केही किलोमिटर मात्र बाँकी थियो, धादिङको झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो ।

गाडीमा रहेका दीपेश-दीपिकासहित १४ जनाको ज्यान गयो । यो समाचार तयार पर्दासम्म अरू गाडीसहित त्यहाँ पुरिएका ३५ भन्दा बढीको शव निकालिएको छ ।

दीपेश-दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दैछन् । शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो ।

उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए तर, होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपर्छ । कामबाट फर्किँदै गर्दा उनले यो हृदयविदारक समाचार सुने । परिवारका सबै सदस्यको जीवन एकै साथ पहिरोमा बिलायो ।

अब होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि स्वागतमा उत्साहित अनुहार होइन, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ ।

होमनाथका १५ वर्षका छोराछोरी दीपेश-दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षातर्फ अग्रसर हुने ।

विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार दीपेश-दीपिका आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थी थिए ।

उनी भन्छन्, “विद्यालयले उनीहरूको प्रगतिको लागि सिफारिससहित छुट्टी दिएको थियो । तर, उनीहरू कहिल्यै फर्केर नआउने भए ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved