काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक डाइभरसिटी भिसा (ईडीभी) परेपछि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । नेपालस्थित अमेरिकी राजदूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ दिनअघि शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका–९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।
भिसा प्रयोजनको लागि एसईई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको प्रशमाण पत्र नक्कली भन्ने पुष्टि भएमा जेल जानेछन् । अमेरिका जान पाउने छैनन् । उनीहरुलाई यसैसाल डीभी परेको थियो ।
Facebook Comment
Comment