काठमाडौं । सिंगापुरको इन्टरपोल शाखाले तीन नेपाली नागरिकको पृष्ठभूमि बारे जानकारी मागेपछि नेपाल प्रहरीको प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
मागिएका विवरणमा एकजना बहालवाला डीएसपी पनि छन्, जसले प्रहरी सङ्गठनमा तरङ्ग सिर्जना गरेको छ ।
सूचना अनुसार, सिंगापुरको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले आतंकवादसँग जोडिएको आर्थिक कारोबारको आशंकामा डीएसपी हेमबहादुर शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र दिपेन्द्रबहादुर शाहको पृष्ठभूमि मागेको हो ।
महेद्र शाहमाथि अवैध क्रिप्टो कारोबार, अनलाइन ग्याम्लिङ, र ‘हाइपर फन्ड’मार्फत् आपराधिक गतिविधि सञ्चालन गरेको आरोप छ ।
डीएसपी शाहीको भने कुनै आपराधिक गिरोहसँग प्रत्यक्ष सम्बन्ध नभए पनि महेन्द्रसँगको संलग्नताको कारण अनुसन्धानको दायरामा परेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले अहिले आन्तरिक रूपमा यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।
२ जना शाहहरुसँग जोडिएका डीएसपी शाही विवादित छविका प्रहरी अधिकारी हुन् । उनले प्रहरी निरीक्षकको तालिममै आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।
त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए ।
Facebook Comment
Comment