यूरो कपमा किन रोएका थिए रोनाल्डो ?

नेपालभ्युज

यूरो कपमा किन रोएका थिए रोनाल्डो ?

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले यूरो कपको अन्तिम १६ मा स्लोभानियाविरुद्धको खेलमा आफू रुनुको कारण अहिले आएर खुलाएका छन् । पेनाल्टीमा गोल गर्न चुकेलगत्तै उनी रोएका थिए ।

तर, आफू गोल गर्न नसकेकाले भन्दा पनि अरु नै कारणले रोएको रोनाल्डोले बताएका छन् । खेलको झन्डै २ महिनापछि आफ्नो नयाँ युट्यूब च्यानल ‘यूआर क्रिस्टियानो’ मा अगष्ट २८ मा अपलोड गरिएको भिडिओको एक अंश पुनः अपलोड गरिएको थियो । जसमा रोनाल्डो रुनुको कारण मात्र समेटिएको छ ।

भिडिओमा हितैसी मित्र रियो फर्डिनान्डोले उनी रुनुको कारण सोधेका छन् र रोनाल्डोले यसको जवाफ दिएका छन् ।

जवाफका क्रममा उनले भनेका छन्, “म त्यो दिन रोएँ । मैले पेनाल्टी मिस गरेँ । पक्कै पनि त्यो प्रहारमा ओब्लाकले निकै नै शानदार बचाउ गरे । म यो कारणले रोइनँ कि मैले पेनाल्टीमा गोल गर्न सकिनँ । विश्व ममाथि खनिन्छ भनेर पनि म रोइनँ । पोर्चुगल ममाथि खनिने भयो भनेर कहिल्यै सोचिनँ । मेरो आमा, बच्चा, गर्लफ्रेन्ड सबै त्यहाँ थिए । आफ्नो र आफ्नालाई पर्ने प्रभावको फरक असर हुँदोरहेछ ।”

पेनाल्टीमा चुकेपछि रोनाल्डोले आँसु रोक्न निकै कोसिस पनि गरेका थिए । स्टेडियममा आफ्नो आमाको आँखाबाट बगेका आँसु देखेपश्चात् आफूले भावना नियन्त्रण गर्न नसकेको उनले खुलाएका छन् ।

मन हल्का गरेपछि उनले पोर्चुलका समर्थकसँग माफी मागदै आफ्नो गल्ती भएको पनि स्वीकारेका थिए । यी फुटेज सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

उनले कसैले आफ्नो बारेमा के भन्लान् भन्ने विषयमा चासो नराखेको पनि बताए । रोनाल्डोले आफैँले कसरी आफूलाई सधैँ दबाबमा राख्ने भन्नेबारे सोचिरहने बताएका छन् ।

“मैले बाल्यकालदेखि नै आफूमाथि दबाब बढाउँदै आएको छु ,” उनले भनेका छन्, “११ वर्षको उमेरदेखि नै आफ्नो दिमागमा ‘क्रिस्टियानो, यू आर द बेस्ट प्लेयर इन दि वर्ल्ड’ भन्दै आएको छु, । म जहिले त्यसरी सोचिरहेको हुन्छु । यसकारण पनि म जहिले आफूमाथि धेरै दबाब सृजना गर्छु ।”

यद्यपि, उनले आफूलाई दबाब मन पर्ने पनि बताए । “जब सोचेको जस्तो हुन्छ, ठीक छ । जब हुँदैन, त्यो पनि महसुस गरिन्छ । किनभने त्यो पनि दबाबको कारणले नै त भएको हो । तर, मलाई त्यो मन पर्छ। आफूलाई अभिव्यक्त गर्नुपर्छ, त्यो लुकाउन सकिन्न । आफूलाई झुट बोल्न सकिन्न । आफू जे हो त्यही हुनुपर्दछ,” उनले भनेका छन् ।

आफ्नो भावनालाई स्वतन्त्र रूपमा अभिव्यक्ति गर्नुपर्नेमा पनि रोनाल्डोले जोड दिएका छन् । “मानिसले के भन्छन्, त्यसले फरक पर्दैन । धेरैले मलाई स्वार्थी आदिइत्यादि भन्छन् । तर, भन्दैमा अब म परिवर्तन हुन्छु जस्तो लाग्छ र ?,”उनले भने, “करिब ४० पुग्नु लागेँ, अब कतिले मन पराउँछन् त कतिले मनपराउँदैनन् । यो जीवनको पाटो हो । यो मेरो लागि समस्या होइन ।”

पोर्चुगलको राष्ट्रिय टोलीमा पनि बढ्दो उमेरका कारण आफ्नो प्रदर्शन खस्किएको टिप्पणी सुनिएको रोनाल्डोले बताए । ‘३९ वर्षको भयो, सबै सकियो, बुढो हुँदैछ’ जस्ता टिप्पणी सुनेको पनि रोनाल्डोले फर्डिनान्डोलाई बताएका छन् ।

हरेक दिनलाई फरक शैली र नयाँ ऊर्जाका साथ सुरु गर्ने बानी आफूमा भएको रोनाल्डोले बताएका छन् । “तर, अर्को दिन जिन्दगी चल्नुपर्छ । जे गयो, त्यो गयो फर्केर आउँदैन । वर्तमान भनेको सर्वोत्कृष्ट उपहार हो, किनभने भोलि के हुने हो कसैलाई थाहा छैन,” उनले भनेका छन् ।

क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टीमा ५-३ ले पोर्चुगल पराजित हुँदा पनि आफूलाई सम्हाल्न भने केही सङ्घर्ष गर्नुपरेको उनले बताए ।

“फ्रान्सविरुद्धको पेनाल्टीमा चुकेपछि २ दिनसम्म मलाई सम्हालिन समय लाग्यो । किनभने त्यो दबाबयुक्त क्षण थियो । तेस्रो दिन जिम गरेँ । वर्कआउट गरेँ । किनभने अझैँ धेरै काम गर्न बाँकी छ । भूतमा बाँच्न सकिन्न भन्ने कुरालाई म निकै मनन् गर्दछु । त्यही भएर निरन्तरता आवश्यक हुनुपर्छ भने लाग्दछ,” रोनाल्डोले भनेका छन् ।

उनले फुटबलमा पेनाल्टी निकै महत्त्वपूर्ण हुने र यसमा चुक्दा भने निकै नरमाइलो लाग्ने पनि बताएका छन् । उनले भने, “यस वर्ष मैले ३ प्रतियोगिता पेनाल्टीका कारण हारेँ तर, कसले सोच्थ्यो कि यसै वर्ष ३ उपाधि जित्न पनि सफल हुन्थे भनेर ।”

युट्यूबमा क्रिस्टियानो रोनाल्डोको तहल्का, सब्सक्राइबरमा कीर्तिमान

यूइएफए यूरो २०२४ को उपाधि स्पेनले जित्यो । फाइनलमा स्पेनले इङल्यान्डलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा कैद भएका अविश्वसनीय क्षणमध्ये एक थियो रोनाल्डोको खसेको आँसु ।

जर्मनीमा आयोजना भएको यूरो २०२४ अन्तिम १६ को खेलमा स्लोभानियाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । यद्यपि त्यो खेल पोर्चुगलले पेनाल्टीमा जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved