अमेरिकी राष्ट्रपतीय निर्वाचन जति नजिकिँदैछ, रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसमाथि निरन्तर ‘कम्युनिष्ट कार्ड’ प्रयोग गरिरहेका छन् ।
ट्रम्पको आरोप छ कि ह्यारिस कम्युनिष्ट हुन् । कम्युनिष्ट विचारमा विश्वास गर्ने ह्यारिस अमेरिकाको राष्ट्रपतिका लागि योग्य हुन सक्दिनन् । कमलालाई जिताउनु भनेको अमेरिकालाई ‘मार्क्सवादी बाटो’ मा अग्रसर गराउनु हो । सार्वजनिक सम्बोधनमा ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला’ भन्ने गरेका छन् ।
कमला ह्यारिसले चुनाव जितेमा खुला सीमा नीति अवलम्बन गर्ने, अमेरिकामा मुस्लिम आतङ्कवादीको आप्रवासन र घुसपैठ बढ्ने, अमेरिका चीनपरस्त हुने र विश्वभर कम्युनिष्ट सोच प्रभावशाली हुने ट्रम्पको आरोप छ ।
केही दिनअघि एक्समा ट्रम्पले भनेका छन्, “म कमरेड कमला ह्यारिससँग बहस गर्न र उनले गरेका धोखाधडीको पर्दाफास गर्न धेरै उत्सुक छु । अमेरिकाले चुनावलाई हतियार बनाउने मार्क्सवादीलाई कहिल्यै अमेरिकाको राष्ट्रपति बन्न दिने छैन ।”
कमला ह्यारिसलाई ‘कम्युनिष्ट’ भन्नु ट्रम्प आत्तिएको लक्षण
अर्को एक बयानमा ट्रम्पले भनेका छन्, “कमरेड कमला अमेरिकाको राष्ट्रपति भइन् भने के गर्लिन् ? त्यही गर्नेछिन्, जो एक कम्युनिष्टले गर्दछ । उनले हामीलाई गरिबी, उपद्रव र पीडामा पुर्याउनेछिन् ।” तर, ट्रम्पको आरोपका बाबजुद कमला ह्यारिसको लोकप्रियता भने बढिरहेको छ । सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस अघि रहेको देखाउँदैछन् ।
कमला एक : पहिचान अनेक
ट्रम्पले निरन्तर ‘कम्युनिष्ट’ को आरोप लगाए पनि कमलामा अनेक विशेषता र पहिचानको सम्मिश्रण भएको छ ।
एक— उनी महिला हुन् । अमेरिकामा महिलालाई मतदानको अधिकार सन् १९१९ देखि मात्र दिइएको थियो । अहिलेसम्म महिला राष्ट्रपति निर्वाचित भएका छैनन् । प्रथम महिला उपराष्ट्रपति भने स्वयम् कमला हुन् ।
कमलाले जिते प्रथम महिला राष्ट्रपतिको इतिहास बन्नेछ । यो सम्भावनाले महिला तथा महिलावादी मतदातालाई आकर्षित गर्नेछ ।
सन् २०१६ मा ट्रम्पको प्रतिस्पर्धी महिला नै थिइन्, हिलारी क्लिन्टन । तर, उनी श्वेत महिला थिइन् । क्लिन्टनले ट्रम्पले भन्दा धेरै लोकप्रिय मत पाएकी थिइन् तर, निर्वाचक मण्डलको बहुमत ट्रम्पको पक्षमा भएको कारण राष्ट्रपति बन्न भने सकिनन् ।
यसपटक पनि ट्रम्पको प्रतिस्पर्धा महिला उम्मेदवारसँगै हुँदैछ । तर, कमला महिला मात्र हैनन्, अश्वेत पनि हुन् । उनी राष्ट्रपति निर्वाचित भइन् भने पहिलो महिला राष्ट्रपतिका साथै बाराक ओबामापछि दोस्रो अश्वेत राष्ट्रपति हुनेछिन् । तर, ओबामाको अभिलेखभन्दा पनि कमला ह्यारिसको इतिहास फरक हुनेछ । ओबामा अमेरिकी माता र अफ्रिकी पिताका सन्तान थिए । उनका पिता अमेरिका पढ्न गएका केन्याली थिए ।
कमला भने दक्षिण एसियाली माता र जमैकाली पिताकी सन्तान हुन् । कमलाकी आमा श्यामला गोपालन भारतको तमिलानाडुबाट अमेरिका पुगेकी थिइन् । उनको नाममै दक्षिण एसिया र अफ्रिकाको मिश्रण छ । ‘कमला’ दक्षिण एसियाली नाम हो भने ‘ह्यारिस’ उनले पीताबाट पाएको थर हो ।
अश्वेत र अफ्रो-एसियाली महिलाका अतिरिक्त विचारले उनी एक प्रतिबद्ध ‘सोसल डेमोक्र्याट’ हुन् । डेमोक्र्याटिक पार्टीभित्र उदार लोकतन्त्रवादी र सामाजिक लोकतन्त्रवादी दुवै प्रकारका राजनीतिज्ञ रहँदै आएका छन् ।
सन् २०२० को प्राइमरीमा आफूलाई घोषित प्रजातान्त्रिक समाजवादी ठान्ने बर्नी स्यान्डर्सले जो बाइडनलाई चुनौती दिएका थिए । कमला स्यान्डर्सझैँ घोषित नभए पनि उनमा सामाजिक लोकतन्त्रवादी रुझान छ । ट्रम्पलाई कमला ह्यारिसका यी विशेषता र पहिचानमाथि प्रहार गर्न गाह्रो भइरहेको छ । तसर्थ, उनी ‘कम्युनिष्ट कार्ड’ खेलिरहेका छन् ।
कति कामयाबी होला ‘कम्युनिष्ट कार्ड’ ?
भनिन्छ, अमेरिकामा कम्युनिष्ट विरोधी भावना निकै बलियो छ र यसलाई त्यहाँ एक प्रकारको गाली, बाटो बिराएको वा असक्षमताको रूपमा लिइन्छ । अमेरिका लामो समय सोभियत सङ्घको प्रतिस्पर्धी देश थियो । शीतयुद्धकालभर यहाँ कम्युनिष्ट र सोभियत सङ्घ विरोधी प्रोपोगान्डालाई बलियो बनाइयो ।
अहिले सोभियत सङ्घको ठाउँ कम्युनिष्ट चीनले लिएको छ । अमेरिका-चीन प्रतिस्पर्धालाई दोस्रो शीतयुद्ध भनिँदैछ । अमेरिकामा आप्रवासी चिनियाँको सङ्ख्या र प्रभावसमेत बढ्दो छ । यी कारणले अमेरिकी मतदाताको एक हिस्सामा कम्युनिष्ट विरोधी भावना बलियो रहेको विश्वास गरिन्छ । तर, ‘कम्युनिष्ट कार्ड’ ट्रम्पलाई चुनाव जिताउने गरी निर्णायक भने नबन्न सक्दछ । अमेरिकी मतदाताले यस्ता सबै चुनावी आरोपलाई गम्भीरतापूर्वक साथ दिन्छन् भन्ने छैन ।
सन् २००८ को चुनावमा बाराक ओबामामाथि करिब यस्तै प्रकृतिको आरोप लागेको थियो । उनको पूरा नाम बाराक हुसेन ओबामा थियो । ‘हुसेन’ शब्दलाई सद्दाम हुसेनसँग जोडेर मुस्लिम विरोधी भावनालाई उपयोग गर्न खोजिएको थियो । त्यो बेला सेप्टेम्बर ११ को आक्रमण र इराक युद्धको स्मरण ताजै थियो । तर, पनि ओबामाले जितेका थिए ।
विश्लेषक भन्छन्, “ट्रम्पको विजयका लागि कम्युनिष्ट कार्डमात्र पर्याप्त छैन । तर, उनले जितेमा सहयोगी भएको ठान्न सकिन्छ ।”
कमलाको प्रतिरक्षा
डेमोक्र्याटिक पार्टी समर्थकले भने कमला कम्युनिष्ट नभएको भन्दै उनको प्रतिरक्षा गरिरहेका छन् । सन् २००८ मा अर्थशास्त्रको नोबल पुरस्कार जितेका अर्थशास्त्री पौल क्रुगम्यानले द न्युओर्क टाइम्स स्तम्भमा कमलाको प्रतिरक्षा गर्दै एक लेख लेखेका छन् ।
उनले भनेका छन्, “कमला ह्यारिसको विचारधारा कम्युनिष्ट हैन, सामाजिक लोकतन्त्र हो । बलियो सामाजिक सुरक्षाका साथै स्वतन्त्र बजार पक्षधरलाई सोसल डेमोक्र्याट्सका रूपमा चिनिन्छ । सामाजिक लोकतन्त्र कुनै कट्टरपन्थी अडान हैन ।”
निर्वाचन नतिजा : स्वीङ स्टेटमा निर्भर
अमेरिकी राष्ट्रपति निर्वाचनमा आरोप-प्रत्यारोपभन्दा चुनावी मुद्दा र ‘स्वीङ भोटर’ बढी निर्णायक हुन्छन् । कुनै एक दललाई मात्र निरन्तर निर्णायक मत नदिने, उम्मेदवार, चुनावी मुद्दा र स्थितिअनुरूप मत बदल्ने मतदाता अनुपात ठूलो भएका राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ ।
‘स्वीङ स्टेट’ हरूमा हुने सानो अनुपातको भोट परिवर्तनले पनि राष्ट्रपतिको निर्वाचन परिणामलाई निर्णायक प्रभाव पार्न सक्दछ । तसर्थ, ‘स्वीङ स्टेट’ लाई ‘ब्याटल ग्राउन्ड’ अर्थात् ‘रणमैदान’ पनि भनिन्छ ।
रिपब्लिकन पार्टी बलिया भएका राज्यलाई ‘रेड स्टेट’, डेमोक्र्याटिक पार्टी बलियो भएका राज्यलाई ‘ब्लु स्टेट’ र ‘स्वीङ स्टेट’ लाई ‘पर्पल स्टेट’ भन्ने प्रचलन छ ।
अमेरिकी चुनावमा कस्ता राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ ? ती कुन हुन् ?
अलाबामा, अर्कान्सस, नेब्रास्का, मोन्टाना, इन्डियाना, मिसीसीपी, मिसौरी, टेनेसी, टेक्सास, ओटोबा, नर्स डाकोटा, साउथ क्यारोलिना आदि ‘रेड स्टेट’ हुन् ।
क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावर, हवाई, इलिनुइस, मेरील्याण्ड, माइने, न्यू जर्सी, न्यू मेक्सिको, ओरेगन, भोरमेन्ट, भर्जिनिया आदि ‘ब्लु स्टेट’ हुन् ।
सन् २०२० को निर्वाचन र पछिल्ला मत सर्वेक्षणका आधारमा यसपटक ९ राज्य मिनेसोटा, भर्जिनिया, विस्किन्सन, पेन्सिलभेनिया, मिसिगन, नर्थ क्यारोलिना, एरिजोना, जर्जिया र नेभाडाले स्वीङ स्टेटको भूमिका गर्ने ठानिएको छ ।
Facebook Comment
Comment