आधा दर्जनभन्दा बढी ‘मधेसकेन्द्रित’ दल र समूह : मूल शक्ति कुन ?

यतिका धेरै ‘मधेसकेन्द्रित’ दलबीच हुने प्रतिस्पर्धा आगामी दिनमा रोचक हुनेछ । ‘मधेसकेन्द्रित’ दलमध्ये कुन टिक्लान् र कुन सिद्धिएलान्, त्यो धेरैका लागि जिज्ञासाको विषय हो ।

आधा दर्जनभन्दा बढी ‘मधेसकेन्द्रित’ दल र समूह : मूल शक्ति कुन ?

काठमाडौं । सङ्घीयता, समानुपातिकता, समावेशीता र सामाजिक न्यायको मुद्दामा भएको मधेस आन्दोलनको केही समयसम्म यस्ता दललाई ‘मधेसवादी’ भन्ने गरिन्थ्यो, अचेल ‘मधेसकेन्द्रित’ भन्न थालिएको छ । यस्तो प्रचलन आफैँमा कति उचित हो भन्ने प्रश्न छँदैछ ।

‘पहाडवादी’ वा ‘हिमालवादी’ दल नहुने ‘मधेसवादी’ किन हुने ? अरु दललाई ‘पहाडकेन्द्रित’ वा ‘हिमालकेन्द्रित’ दल नभनिने, ती दललाई मात्र किन ‘मधेसकेन्द्रित’ भन्ने ? यसको उचित उत्तर सायदै कसैले दिन सक्ला तर, सजिलोका लागि ‘मधेसकेन्द्रित’ शब्द नै प्रयोग गरिएको छ ।

सामान्यतः मधेसको स्वाभिमान, स्वशासन र स्वाधीनताको सवाल उठाउने, पहिचानमा आधारित सङ्घीयताको मुद्दा बोक्ने, तराई-मधेसका जिल्लामा बाक्लो सङ्गठन र प्रभाव भएका, त्यहाँबाट धेरै भोट ल्याउने, पहाडी र हिमाली जिल्लातिर कमै सङ्गठन र प्रभाव भएका दललाई ‘मधेसकेन्द्रित’ भन्ने गरिन्छ ।

मधेसकेन्द्रित भनिएका दलको शीर्ष वा मूल नेता मधेसी समुदायबाटै आएको पाइन्छ । सम्भवत: यो एक ठूलो मनोवैज्ञानिक विभाजन र राष्ट्र निर्माणको समस्या हो कि राष्ट्रिय भनिएका दलको शीर्ष वा मूल नेतृत्व अहिलेसम्म यस समुदायबाट बनेका छैनन् ।

आधुनिक लोकतन्त्र र खुला समाजमा ‘जात र समुदाय’ को कुरा खुलेर त कसले गर्छ तर, मनोवैज्ञानिक रूपमा भने त्यो कुनै न कुनै रूपमा अभिव्यक्त भइरहेकै छ ।

तर, ‘मधेसकेन्द्रित’ भनिएका दलहरूको विभाजन, प्रतिस्पर्धा र तिक्तता भने कम छैन । सामुदायिक ध्रुवीकरण, नेतृत्वको अहङ्कार र टकराव तथा अन्तर्दलीय किचलो ‘मधेसकेन्द्रित’ दलमा पनि उस्तै छ ।

सबैभन्दा ठूलो ‘मधेसकेन्द्रित’ दल जनता समाजवादी पार्टी नेपाल हालै विभाजित भयो । अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गरी जसपा बनाए तर, दल विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट अझै विचाराधीन छ ।

राई समूहको कानूनी हैसियत अझै शङ्काको घेरामा छ । जसपाका दुई समूहलाई भिन्नाभिन्नै गणना गर्दा अहिले नै संसद्‌भित्र ५ ‘मधेसकेन्द्रित’ दल पुगे, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी । उता लोसपा परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक बनेका राजेन्द्र महतो छिट्टै नयाँ पार्टी घोषणाको तयारीमा छन् ।

तर, उनले आफूले बनाउने नयाँ दल ‘मधेसकेन्द्रित’ नभएर समग्र उत्पीडित समुदायको नेतृत्व गर्ने खालको हुने बताउँदै आएका छन् । उनले मधेसी र जनजाति आन्दोलनलाई एक ठाउँ जोड्न खोजिरहेका छन् ।

महतोले गरिरहेको अभ्यास कुनै नयाँ भने हैन । उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम, अशोक राई नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टी, युवराज कार्की नेतृत्वको खस-समावेशी पार्टीबीच एकता हुँदा पनि यही भनिएको थियो । पछि त्यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसमेत जोडियो तर, कुनै फरक वा सार्थक परिणाम भने आएन ।

यस्ता दलहरूले वैचारिक रूपमा ‘सङ्घीय समाजवादी’ धार पक्रिन खोजेको देखिन्छ । कतिपयले सामुदायिक समाजवाद भन्छन् भने कतिले समुन्नत समाजवाद । कांग्रेस, कम्युनिष्टजस्तै ‘समाजवाद’ यस्ता दलको पनि प्रिय शब्द हो ।

रिजवान अन्सारीले ‘नेपाल सङ्घीय समाजवादी पार्टी’ बनाएको दशकभन्दा बढी भयो । उनको दलको चरित्र पनि मूलतः ‘मधेसकेन्द्रित’ नै देखिन्छ । त्यसो त माओवादीबाट एमाले हुँदै स्वतन्त्र बनेका प्रभु शाहको नेतृत्वमा अर्को दल छ— आम जनता पार्टी (आजपा) । यो पार्टीको पनि जनाधार मधेसमै छ ।

यतिका धेरै ‘मधेसकेन्द्रित’ दलबीच हुने प्रतिस्पर्धा आगामी दिनमा रोचक हुनेछ । ‘मधेसकेन्द्रित’ दलमध्ये कुन टिक्लान् र कुन सिद्धिएलान्, त्यो धेरैका लागि जिज्ञासाको विषय हो ।

अशोक राई समूहको विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल कमजोर भएको छ । तर, एकताको राष्ट्रिय महाधिवेशन गरेर यादवले कमि कमजोरीको पुर्ताल गर्न खाजेका छन् ।

विभाजनमा यादव र राई दुवैतिर नलागेका पूर्वी नेपालका कार्यकर्ताले भने डा. महेन्द्र लावतीको संयोजकत्वमा ‘पहिचानवादी मोर्चा’ बनाएका छन् । इलाम २ उपनिर्वाचनमा पहिचानवादी उम्मेदवारको संज्ञा पाएका डकेन्द्रसिंह थेगिमले पाएको तेस्रो सम्मानजक मतले यो मोर्चालाई उत्साहित बनाएको छ । मोर्चा मंसिरदेखि ‘नो कोशी’ आन्दोलनलाई फेरि ब्युँताउने तयारीमा छ ।

मोर्चाका एक नेता भन्छन्, “जसपा दुई हैन, तीन टुक्रा भएको हो । हामीले पार्टी नबनाइसकेको हुनाले यादव र राई समूहको मात्र चर्चा भएको छ । हामी पनि आगामी स्थानीय निर्वाचनअघि नै नयाँ पार्टी बनाउने तयारीमा छौँ । यादव र राई दुवै समूहले २०८४ को आम निर्वाचनमा थ्रेसहोल्ड काट्न गाह्रो छ । पूर्वी पहाडबाट उनीहरूले प्राप्त गरिरहेको भोट अब पाउने छैनन् ।”

एकीकृत पार्टी हुँदासमेत जसपाले मुस्किलले थ्रेसहोल्ड भेट्ने गरेको थियो । गत चुनावमा ३.९९ प्रतिशत मत प्राप्त गरेको थियो भने २०७४ को आम निर्वाचनमा यसको लोकप्रिय मत प्रतिशत ४.९३ थियो ।

तीन टुक्रापछि पनि सायद सबैभन्दा ठूलो समूह उपेन्द्र यादव नेतृत्वको समूह नै हुनेछ । राई समूहले पूर्वी पहाडमा पनि खासै राम्रो ‘रेसपोन्स’ पाइरहेको छैन, मधेसमा सीमित प्रभाव देखाउँदैछ ।

मधेस आन्दोलनको विरासत, यादव-मुस्लिम समीकरण, उपेन्द्र यादवको व्यक्तित्व, सक्रियता र पहुँच तथा अरु घटकभन्दा ठूलो सङ्गठन जसपा नेपालका सवल पक्ष हुन् । तर, धमिलो हुँदै गएको यादवको व्यक्तित्व, लामो समय मधेस सरकार चलाउँदाका अपजस र अनाकर्षण, जातिवादको आरोप र केन्द्रीय राजनीतिमा अवसरवादी गठबन्धनको कारण बिग्रिएको छवि यादवका कमजोर पक्ष हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपा भने अस्तित्व सङ्कटको नजिक पुगेको बताइन्छ । राजेन्द्र महतो बाहिरिएर अर्को पार्टी बनाउने तयारीपछि यो समूह चर्चाहीन भएको छ । वृशेषचन्द्र लाललगायत कतिपय तमलोपाकालीन नेताहरू पनि अहिले ठाकुरसँग छैनन् । हृदयेश त्रिपाठी एक सानो समूह बनाएर बसेका छन् । राजनीतिबाट हराएजस्तै भएका छन् ।

लोसपा अहिले ओली सरकारमा सामेल छ । यस पार्टींसँग सरकार विरोधि क्रान्तिकारी छवि पनि छैन । गत आम निर्वाचनमा नै यसले थ्रेसहोल्ड काट्न सकेको थिएन । ठाकुर बुढ्यौली र अशक्तताको अवस्थामा छन् । सबैभन्दा छिटो समाप्त हुने ‘मधेसकेन्द्रित’ दल लोसपा हुन सक्नेछ ।

लोसपालाई नजिकबाट चिनेका राजेन्द्र महतो निकट कार्यकर्ता भन्छन्, “ठाकुरजी अब सक्रिय हुन सक्ने अवस्थामा छैनन् । शरदसिंह भण्डारीले त्यो पार्टीलाई नेतृत्व गरेर अगामी चुनावसम्म कांग्रेसमा विलय गराउन सक्दछन् ।”

तर, राजेन्द्र महतोले खोल्ने नयाँ पार्टीले पनि तरक्की गर्ने आधार भने कमजोर छ । उनको आधार पूर्वसद्भावना धार हो । तर, त्यो अहिले तितरबितर छ । महतोको छवि ओलीद्वारा दोस्रो संसद् विघटनको समर्थन र ओली सरकारमा सहभागितापछि मधेसमा खासै राम्रो छैन । तसर्थ, राष्ट्रिय मुक्ति क्रान्तिका नाममा उनी पहाडी जनजाति युवामा केन्द्रित हुन खोजिरहेका छन् ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पश्चिम मधेसको थारु बहुल जिल्लामा केन्द्रित थियो । टीकापुर थारु आन्दोलनको जगमा बनेको पार्टी हुँदा विशेषतः कैलाली, बर्दिया, बाँके र दाङ यसको आधार क्षेत्र हुन् । तर, पार्टीको पछिल्लो चालामाला पछि यसले आफ्नो जनाधार गुमाउँदै गएको छ ।

गत चुनावमा पनि यसले थ्रेसहोल्ड काट्न सकेको थिएन । श्रीमान्-श्रीमतीको झगडाले नागरिक उन्मुक्ति पार्टी स्वाहा हुने सम्भावना बलियो छ ।

डा. सीके राउतलाई व्यङ्ग्य गर्न मधेस राजनीतिमा ‘नयाँ मसिहा’ को शब्द प्रयोग गरिन्छ । कैलाश महतोलगायत थुप्रै स्वराज अभियानकालीन नेताले उनलाई छोडेका छन् । उनीहरूले भिन्नै स्वाधीन मधेस जनअभियान चलाइरहेका छन् ।

राउत नेतृत्वको जनमत पार्टीले अहिले मधेस सरकारको नेतृत्व गरिरहेको छ । जसपा नेतृत्वको मधेस सरकारको तीव्र विरोध गर्दै आएका राउतको पार्टीको सरकारले पनि खासै राम्रो काम गर्ने सङ्केत देखाएको छैन ।

राउतलाई पुराना दल र नेताप्रतिको वितृष्णाले केही फाइदा अझै गर्न सक्दछ । उनलाई ‘नयाँ’ हुनको फाइदा अझै हुन सक्दछ । तर, उनलाई एक गम्भीर, संवेदनशील नेताको रूपमा भन्दा ‘स्टन्टबाज’ का रूपमा बुझ्नेको सङ्ख्या बढ्दो छ ।

यतिका धेरै दल र समूहबीच मधेसको मूल शक्ति कुन हुने हो ? त्यो २०८४ को चुनावले देखाउला । तर, सम्भावना बढी छ कि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र डा.सीके राउतको जनमत पार्टीबीच ‘मधेसकेन्द्रित’ मूल शक्ति बन्ने होड चल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved