काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लाे समय अर्थतन्त्रमा क्रमशः सुधार देखिँदा समग्र बजार चलायमान हुन थालेको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका हुन् ।
‘अहिले सेयर बजारमा उत्साह छ, घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको छ, कर्जाको मागमा पनि सुधार हुँदैछ’ उनले भने, ‘पर्यटक आगमन बढिरहेको छ, रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च छ, विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा छ । यो हाम्रा लागि अवसर हो, यसको सदुपयोग गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक छ ।’ उनले भने ।
निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएको उल्लेख गर्दै अध्यक्ष ढकालले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेको धारणा राख्दै निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने बताए ।
सरकारले आर्थिक सुधारका लागि उच्च स्तरीय आयोग बनाउन लागेको भन्दै यसलाई स्वागत गर्दै उनले महासंघले विगतदेखि नै आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको स्मरण पनि गराए ।
अध्यक्ष ढकालले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गरेका छन् । उद्योग व्यवसायले खपत गर्ने विद्युतलाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन पनि अध्यक्ष ढकालले माग गरेका छन् ।
Facebook Comment
Comment