त्रिविका पदाधिकारीलाई कांग्रेस नेताको धम्की, सुरक्षा व्यवस्थापछि गए कार्यालय

नेपालभ्युज

त्रिविका पदाधिकारीलाई कांग्रेस नेताको धम्की, सुरक्षा व्यवस्थापछि गए कार्यालय
फाइल फोटो

काठमाडौं । प्रहरीको सुरक्षामा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी कार्यालय पुगेका छन् । रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल सुरक्षाको कारण देखाउँदै गत आइतबारदेखि कार्यालय गएका थिएनन् । बुधबार प्रहरीको सुरक्षामा उनीहरु कार्यालय पुगेका हुन् ।

अहिले पनि कार्यालय परिसरमा १०-१५ जना प्रहरीको टोली तैनाथ छ । उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएको कारण कार्यालय गएका छैनन् ।

यसअघि रजिस्ट्रार रिजालले गत शुक्रबार शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गृहमन्त्रालयलाई यसबारेमा पत्राचार गर्दा पनि अटेर गरेपछि बुधबार सामाजिक सञ्जालमार्फत् सुरक्षा माग गरेकी थिइन् ।

‘सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसंग जोडदार माग गर्दछु,’ भट्टराईले लेखेकी छन् ।

पदाधिकारीहरूले समाजशास्त्र विभागका प्रमुखको नियुक्तिलाई लिएर सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरूले धम्की दिएको आरोप लगाएका छन् ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखमा टीका गौतमको नाम सिफारिस गरेपछि कार्यकारी परिषद्ले नियुक्तिको निर्णय गरेको छैन । गौतमलाई नियुक्त गर्न नेविसंघका नेताहरूले दबाब दिएको बताइएको छ ।

धम्की दिने नेविसंघका पूर्वकार्यकर्ता तथा कांग्रेस महाधिवेशन प्रतिनिधि योगेन्द्र रावल रहेको पदाधिकारीको आरोप छ ।

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा जिल्ला अदालतबाट दोषी ठहर रावलले केहीदिन अघि गृहमन्त्री रमेश लेखकसँगको तस्वीर सार्वजनिक गरेपछि पदाधिकारीहरुले झनै असुरक्षित महसुस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved