काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताको लोगो सर्वजनिक गर्यो ।
आफ्नै आधिकारिक फ्रेन्चाईज लिगको रुपमा क्यानले एनपीएल ल्याएको हो । पहिलो संस्करणको लागि सार्वजनिक गरिएको लोगोमा ४ फरक कथालाई कलात्मक शैलीमा गाभिएको क्यानले जनाएको छ ।

पहिलो छ, नेपाली झण्डाको चन्द्र र सूर्यको कथा । एनपीएलको अगाडि राखिएको क्रिकेट बलको दुई भागमा चन्द्र र सूर्यलाई अंकित गरिएको छ । बलको दुई पाटोमा नेपालको झण्डाको चिन्ह चन्द्र र सूर्यले नेपालको क्रिकेटले विश्वमा राष्ट्रको झण्डालाई फर्फराएको जनाएको छ ।
दोस्रो कथा छ, क्रिकेटले मेचीदेखि महाकालीसम्म पूर्याएको प्रभाव । क्रिकेट बलको बिच भागमा २ खाली ठाँउलाई नेपालको नदीहरु मेचीदेखि महाकालीलाई जनाउँछ । दुई नदीको बीचमा रहेको क्रिकेट ब्याटले दुई भागलाई पुलको रुपमा जोडिरहेको दर्शाउँछ । नेपालको पूर्व देखि पश्चिम भुभागलाई नेपाली क्रिकेटले पुलजसरी जोडेको देखाउँछ ।

तेस्रो कथा रहेको छ, खुकुरी र क्रिकेट ब्याटको सम्बन्ध । दुई नदी बीचमा रहेको क्रिकेट ब्याटमा एउटा खुकुरीजस्तो आकार पनि जोडिएको छ । यसले नेपालको गोर्खाली शैली र निडर आँटको व्याख्या गर्दछ । जसलाई नेपाली क्रिकेटले अघि बढाई रहेको जनाउँछ । जसरी नेपाललाई सार्वभौम राष्ट्रको रुपमा चिनाउन निडर र आँटिलो सिपाहीहरुको भूमिका रहेको छ, त्यसरी नै नेपाली क्रिकेटले पनि विभिन्न युद्धमा सहभागी हुँदै विभिन्न असामान्य परिस्थितिसँग जुँध्दै अहिले पुगेको एउटा मुकामको वर्णन गर्दछ।
चौथो, विश्वको सर्वच्च हिमाल सगरमाथाको उचाईं र नेपाली क्रिकेटको सपना । एनपीएलको पीको मुनिको भागलाई छड्के शैलीमा काटिएको छ । जसले नेपालको पहिचान सगरमाथालाई जनाउँदछ । यसले विश्व क्रिकेटमा जितेर शिखरमा चुम्ने चाहने नेपाली क्रिकेटको सपनालाई अंकित गर्दछ ।
Facebook Comment
Comment