माझी समुदायमाथि गाउँपालिकाकै सांस्कृतिक थिचोमिथो, पितृ नचाउने ठाउँ खनेर सिँचाइ पोखरी
कोलाँती भुम्लु तल्लो माझी गाउँमा वर्षौँदेखि माझीहरू बस्दै आएका छन् । हाल त्यहाँ ३१ घरधुरी माझी छन् । प्राय : युवा वर्गले उच्च शिक्षा, रोजगारी र अन्य कारणवश गाउँ छाडेका छन् । गाउँमा वृद्ध र केटाकेटी मात्रै छन् ।
काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ६ स्थित कोलाँती भुम्लु तल्लो माझी गाउँ ठाँटी डाँडामा चार वर्षअघि निर्माण थालिएको सिँचाइ पोखरी अलपत्र परेको छ ।
स्थानीय माझी समुदायको परम्परादेखि पितृ नचाउन प्रयोग गर्दै आएको भूमिमा पालिकाले आकाशे पानी जम्मा गर्न सिँचाइ पोखरी बनाउनका लागि आर्थिक वर्ष २०७६/७७ मा बजेट छुटाएको थियो । २ लाखको परियोजनाले माझी समुदायको सांस्कृतिक धरोहर मासिँदा स्थानीय निराश छन् ।
चार वर्षअघि पालिकाको नीति तथा कार्यक्रम र बजेटले आँखा गाँडेको क्षेत्र ठाँटी डाँडामा अहिले डम्पिङ साइट बनेको छ । जुन खाल्डोले स्थानीय माझी समुदायको सांस्कृतिक भूमि मात्र मासेन, राज्यको २ लाख बजेटसमेत सत्यानाश भएको छ ।
भएको के हो ?
आव २०७६/७७ मा भुम्लु गाउँपालिकाले आकाशे पानी भण्डारण गरेर सिँचाइको लागि प्रयोग गर्ने उद्देश्यस्वरूप २ लाख रुपैयाँ विनियोजन गर्यो । बजेट विनियोजन भएसँगै स्थानीयको सहमति लिन गएका कर्मचारीले सबैको हस्ताक्षर र औँठाछाप लिए ।
उनीहरूलाई परियोजनाको विस्तृत जानकारी दिइएन । जान्ने, बुझ्ने युवाहरू गाउँमा थिएनन् । स्थानीय पुरुषोत्तम माझी भन्छन्, “हामी सबै काठमाडौंतिर नै थियौँ । हामीलाई कसैले केही भनेनन् । गाउँमा बा-आमाहरुलाई जानकारी भएन अथवा बुझ्नुभएन । उहाँहरूको हस्ताक्षर लिएर गएछन् ।”
परियोजना सुरु हुनुभन्दा अगाडि त्यसबारे विस्तृत जानकारी नगराएको कारण नै माझी समुदायको पितृ नचाउने ठाउँ लक्षित गरेर सिँचाइ पोखरी खनिएको उनको दाबी छ । पुरुषोत्तम भन्छन्, “यस विषयमा हामीलाई पहिल्यै थाहा भएको भए हामी रोक्थ्यौँ, नत्र सहमतिमा केही स्थान पर पनि सो आयोजना खन्न सकिन्थ्यो ।”
साझा प्रश्न : खोइ हाम्रो पितृ नचाउने ठाउँ ?
कोलाँती भुम्लु तल्लो माझी गाउँमा वर्षौँदेखि माझीहरू बस्दै आएका छन् । हाल त्यहाँ ३१ घरधुरी माझी छन् । प्राय : युवा वर्गले उच्च शिक्षा, रोजगारी र अन्य कारणवश गाउँ छाडेका छन् । गाउँमा वृद्ध र केटाकेटी मात्रै छन् ।
स्थानीय सावित्री माझीलाई पुर्खाहरूले ठाँटी डाँडामा पितृ नचाउँछन् भन्ने सानैदेखिको सम्झना छ । तर, केही वर्षयता भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव भएको उनको गुनासो छ ।
पालिकाले खाल्डो खनेसँगै मासिएको उनीहरूको पवित्र भूमि अहिले फोहोर फाल्ने ‘डमिपङ साइट’ बनेको छ । उनी यस विषयलाई लिएर पालिकासम्म नपुगेकी पनि हैन । तर, पटक-पटक पालिका धाए पनि सावित्रीको कुरा पालिकाले सुनेन ।
आफूहरूको सांस्कृतिक भूमि बचाउन कोलाँतीका माझी समुदायले बारम्बार सङ्घर्ष गर्दा पनि विफल भएको उनको भनाइ छ ।
“पालिकामा गएर पटक-पटक मैले कुरा राखेँ तर, सुनुवाइ भएन । अहिले खाल्डो खनेर अलपत्र पारेको छ, न त त्यहाँ सिँचाइ पोखरी नै बन्यो । न त हामीले पितृ नचाउने ठाउँ नै पायौँ,” उनी भन्छिन्, “खाल्डो खन्न पनि पुर्न पनि पालिकाले बजेट दिन सक्दैन भनेर फर्काउँछन् हामीलाई ।”
जानकारी नगराइ आफूहरूले पुर्खादेखि भोग चलन गर्दै आएको सांस्कृतिक भूमिमा सिँचाइ पोखरी खनेर अलपत्र पार्नु कति पनि उचित नरहेको नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष चिनीमाया माझी बताउँछिन् ।
“हाम्रो पुर्खादेखि भोग चलन गर्दै आएको सांस्कृतिक भूमिमा पालिकाले जान्ने, बुझ्ने नराखी निर्णय गर्न मिल्दैन । एक दुई जनाको अनुमति पायो भन्दैमा समुदायकै सांस्कृतिक भूमि मासिने परियोजना भित्र्याउनु गलत हो,” उनले थपिन् ।
खाल्डो खनेर अलपत्र पारिएको माझी समुदायको सांस्कृतिक भूमि पहिलेकै अवस्थामा फर्काउनुपर्ने उनको माग छ ।
उनी कसैले पनि कुनै जातजातिको धर्म, संस्कृतिमा आघात पुर्याउने कार्य गर्न नहुने बताउँछिन् । पालिकाले गाउँ विकासका लागि उक्त परियोजना पारित गरे पनि स्थानीयको सांस्कृतिक भूमि मिच्दा अनुमति लिनुपर्ने उनको भनाइ छ ।
भुम्लु गाउँपालिकाको उक्त कदमप्रति आफूहरू कानूनी बाटोमा अघि बढ्ने अध्यक्ष माझीले बताइन् । स्थानीय सरकारले नै स्थानीय समुदायको सांस्कृतिक भूमि संरक्षण गर्न नसकेकोप्रति उनको दुखेसो छ । उनी भन्छिन्, “सिन्धुपाल्चोकमा नगरपालिकाले नै वाल लगाइदिएर माझीको पितृ नचाउने ठाउँको संरक्षण गरिदिएको छ ।”
पितृ नचाउने भनेको के हो ?
पितृ नचाउने भनेको माझी जातिको मृत्यु संस्कार हो । मृत व्यक्तिको सम्झनामा हरेक वर्षको सोह्रश्राद्धको समयमा पितृ नचाइने अध्यक्ष माझी बताउँछिन् । दसैं आउनुभन्दा २५ दिन अगाडिबाट सोह्रश्राद्ध सुरु हुन्छ ।
पहिलो दिन पितृ बोलाउने, दोस्रो दिन नचाइने र तेस्रो दिन खोलामा बगाइने प्रचलन रहेको अध्यक्ष माझीको भनाइ छ । यधपि, केही जिल्लाका माझी समुदायमा पितृ चचाउने संस्कार र मिति परिवर्तन रहेकोसमेत उनी बताउँछिन् ।
कानूनमा के छ ?
आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु सबै नेपालीहरूको दायित्व मात्र नभएर अधिकार पनि हो ।
यस कुरालाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १७ को उपधारा ३ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने हक हुनेछ’ भनेर संस्कृतिसम्बन्धी हकको रूपमा प्रत्याभूत गरेको अवस्था विद्यमान छ ।
पालिकाको गैरजिम्मेवार उत्तर
भुम्लु गाउँपालिकामा तत्कालीन पालिका प्रमुख गुमनध्वोज कुँवर थिए । वर्तमान पालिका प्रमुखमा प्रेमबहादुर भुजेल छन् । यद्यपि, पालिका प्रमुख भुजेललाई यस विषयमा केही जानकारी छैन । उनी भन्छन्, “यो विषयमा त मलाई केही थाहा छैन, म एक पटक बुझ्छु है त, के रहेछ !”
यद्यपि, ठाँटी डाँडाका तत्कालीन र वर्तमान वडाअध्यक्ष भरतबहादुर शिवभक्ति भने माझी समुदायको सहमतिमानै पोखरी खनिएको दाबी गर्छन् ।
“माझी समुदायको मागअनुसार सहमति लिएर नै हामीले पोखरी खनेका थियौँ । त्यो सहमतिको पेपर वडामा अझै छ । बजेट अपुगको कारण पोखरी निर्माण हुन सकेन । त्यसपछिको बजेटले त्यो पोखरी समेटिएन,” वडाध्यक्ष शिवभक्तिले भने ।
खाल्डो पुर्नको लागि पालिकाले बजेट दिन नसक्ने बताउँदै उनी भन्छन्, “यदि त्यो पोखरी पुन निर्माण गर्ने हो भनेचाहिँ आव २०८२/८३ मा बजेट मिलाउन सकिन्छ ।”
यद्यपि, पोखरीका लागि खाल्डो खनिएको चार वर्ष बितिसक्दा पनि बजेट अपुग परियोजनामा बजेट माग गर्न वडाध्यक्ष शिवभक्तिले नसकेको देखिन्छ ।
Facebook Comment
Comment