काठमाडौं । बंगलादेशमा सरकारी नोकरीमा कोटा प्रणालीविरुद्ध विद्यार्थी आन्दोलन उग्र भयो । करिब १ महिनाको आन्दोलनपछि अगष्ट ५ मा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्यो । त्यसपछि उनी बंगलादेशबाट भागेर भारत पुगिन् ।
अहिले शेख हसिनाको राजीनामापछि गठित अन्तरिम सरकारले काम सुरु गरेको छ । हसिनाको शासनकालमा भारतसँग बंगलादेशको सम्बन्ध एकदमै राम्रो थियो । उता ढाकाले चीनसँग पनि सम्बन्धलाई एक सन्तुलनमा बनाइराखेको थियो ।
तर, शेख हसिना गएपछि भारतको नजर मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारमाथि टिकेको छ । बंगलादेशमा अहिले अस्थिरताको स्थिति छ । यो स्पष्ट छैन कि अन्तरिम सरकारले के कति स्वतन्त्रतापूर्वक काम गर्न पाउँछ ।
अहिले बंगलादेशमा भारतीय हितलाई लिएर चिन्ता जाहेर गरिँदैछ । यस्तो स्थितिमा बंगलादेशमा भारत र चीन मिलेर काम गर्नु जरुरी रहेको एक चिनियाँ विशेषज्ञको राय छ ।
बकनेल विश्वविद्यालयका प्रोफेसर झि कुन् झुले स्पुतनिक इन्डियासँगको कुराकानीमा भनेका छन्, “बंगलादेशमा स्थिर र मैत्रीपूर्ण सरकार हुनु नै भारत र चीन दुवैको हितमा हुन्छ । शेख हसिनाले भारत, चीन र अमेरिकाबीच बढो राम्रो सन्तुलन बनाएकी थिइन् ।”
उनी थप भन्छन्, “अमेरिका एक विश्व शक्ति हो, उसको दक्षिण एशियामा रुचि छ । यहाँ भारत र चीन क्षेत्रीय शक्ति हुन् । यिनको रुचि शान्ति र समृद्धि हो । दक्षिण एसियामा भारत र चीन मिलेर एक साथ काम गर्न आवश्यक छ ।”
बंगलादेशबाट पलायनपछि शेख हसिना भारतमा छन् । भारतबाट उनले एक बयान दिँदै यो दाबी गरेकी छन् कि बंगलादेशमा अस्थिरताको पछाडि अमेरिकाको हात छ । अमेरिकाकै कारण उनले पदबाट राजीनामा गरेर देश छाड्नुपर्यो ।
उनका अनुसार यदि उनले सेन्ट मार्टिन टापु अमेरिकालाई दिएकी हुन्थिन् त बंगलादेशको सत्तामा रहिरहन सक्थिन् । भलै कि हसिनाका छोरा सजीव वाजेदले यो भनाइको खण्डन गरेका छन् ।
बंगलादेश छोडेपछि शेख हसिना भारतमा सुरक्षित छन् तर, उता बंगलादेशमा भने हसिना समर्थकमाथि आक्रमण भइरहेका छन् । अवामी लिगका कयौं नेता कार्यकर्ताको हत्या भएको छ । हसिना सरकारमा रहेका मन्त्रीसमेत गिरफ्तार भएका छन् ।
देशका अल्पसङ्ख्यक हिन्दू समुदायको स्थितिलाई लिएर पनि चिन्ता व्यक्त गरिँदैछ । हिन्दूहरू पनि हिंसामा परेका छन् ।
Facebook Comment
Comment