भारतीय विदेश सचिवको नेपालमा ३२ घण्टा, राष्ट्रपतिदेखि मन्त्रीसम्म भेट

नेपालभ्युज

भारतीय विदेश सचिवको नेपालमा ३२ घण्टा, राष्ट्रपतिदेखि मन्त्रीसम्म भेट
फाइल फोटो

काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिस्री सोमबार साँझ स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका विदेश सचिव मिश्रीले नेपालमा ३२ घण्टा बिताए । सो क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार बहालवाला मन्त्री र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

नेपालका परराष्ट्र सचिव  सेवा लम्सालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका उनले गत महिनामात्र विदेश सचिवको कार्यभार सम्हालेका थिए । भ्रमणका क्रममा  मिस्री र नेपाली समकक्षीहरुबीच भएको बृहत छलफलले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले‍ सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सोमबार नै उनले आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । भेटमा उनीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल भएको थियो ।

परराष्ट्र सचिव लम्सालले मिस्रीको सम्मानमा आइतबार साँझ आयोजना गरेको रात्रिभोजमा उनले मधेसकेन्द्रित दलका नेताहरू र  राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए ।

भ्रमणका क्रममा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालसँगै विदेश सचिव मिस्रीले काठमाडौंको रक्तकालीमा रहेको प्रख्यात नेपाली कवि केशरी चित्तधर ‘हृदय’सँग सम्बद्ध ऐतिहासिक आवासीय भवन ‘नेपाल भाषा परिषद्’को पनि संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त भवन २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनामध्येको एक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved