पूर्वमन्त्री एवम् सांसद राजभण्डारी जुवाखालबाट पक्राउ

नेपालभ्युज

पूर्वमन्त्री एवम् सांसद राजभण्डारी जुवाखालबाट पक्राउ
जुवाखालबाट पक्राउ परेका एमाले नेता तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी । फाइल तस्वीर ।

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा उनीसहित ११ जना शनिबार साँझ काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजभण्डारीसहित उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महतसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताएअनुसार काभ्रेको बनेपा नगरपालिका १२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

यसबाहेक पक्राउ पर्नेमा कलाकार पुरुषोत्तम आचार्यसमेत छन् । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ७० हजार र १६ बूक तास बरामद गरेको छ । उनीहरू अहिले प्रहरी वृत्त गौशालामा छन् । आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ ।

एमाले नेता राजभण्डारी कोशी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । पछिल्लो प्रादेशिक निर्वाचनबाट दोस्रोपटक सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित उनी बहालवाला सांसद हुन् ।

*यसअघि पक्राउ परेकाहरुको सूचीमा भुलवश महेश किरातीको नाम उल्लेख भएकामा क्षमा माग्दै सच्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved