काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का प्रहरी इन्स्पेक्टरले आफ्नै सिरियलको एक एपिसोड जीवनमा उतारेका छन् । तर यसपटक उनी अभियुक्त पक्राउ गर्ने होइन, आफै पक्राउ परेका छन् ।
शनिबार साँझ काठमाडौंको गौरीघाटमा उनै कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना जुवाडे एक साथ भेला भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुग्यो । प्रहरीले ‘छापा’ मार्दा, आचार्य र उनका साथीहरू तास खेल्दै गरेको फेला पारे ।
‘हामीले सोच्यौं, सायद ‘सक्किगोनि’को नयाँ एपिसोड सुटिङ भइरहेको होला, नगद र तासका बुकहरू थिए । क्यामेरा देखेनौँ, तब थाहा भयो यो असली खेल रहेछ’ एक प्रहरी अधिकारीले भने ।
अहिले उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । जहाँ ‘फिल्मी इन्सपेक्टर’ आचार्यले थप ‘क्यारेक्टर स्टडी’ गर्ने मौका पाएका छन् ।
प्रहरीका अनुसार उनीहरु काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजु पनि पक्राउ परेका छन् ।
नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो ।
Facebook Comment
Comment