काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तय भइसकेका छन् । रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प-जेडी भान्स र डेमाक्र्याटिकबाट कमला ह्यारिस-टिम वाल्ज जोडाबीच चुनावी सङ्घर्ष हुने निश्चित भएको छ ।
उम्मेदवार त अन्य पार्टी वा स्वतन्त्र पनि हुन सक्लान तर, अमेरिकामा यो भनाइ बडो लोकप्रिय छ— अमेरिकी मतदाताले बरु ‘एलियन’ लाई भोट देलान् तर, तेस्रो पार्टीलाई भोट दिँदैनन् ।
यो प्रवृत्ति यसैपटक तोडिने कुनै सम्भावना देखिएको छैन । तसर्थ, आम अमेरिकीको जस्तै विश्वभरिको धारणा पनि यही छ कि उपरोक्त दुईमध्ये एक जोडाले चुनाव जित्नेछन् ।
ट्रम्प सन् २०१६ मा निर्वाचित भइसकेका व्यक्ति हुन् । तसर्थ, उनका नीति, व्यवहार र अभ्यास कस्ता होलान् भनेर अनुमान गर्न सकिने प्रशस्त ठाउँ छन् । ट्रम्पको विजयले विश्वलाई कुनै नयाँपनको अनुभूति सायदै दिनेछ ।
ट्रम्प नीति ‘डक्ट्रिन’ को ओजलाई धान्न सक्नेगरी विकसित हुने सम्भावना कमैले देखेका छन । ‘अश्वेत राष्ट्रवाद’ र ‘वि-बहुपक्षीयता’ बाहेक ट्रम्प नीतिका अन्य तत्त्व के होलान् ? कसैले भन्न सक्दैन ।
तर, ह्यारिसले जितिन् भने पहिलो महिला राष्ट्रपतिको रेकर्ड राख्नेछिन् । पहिलो महिला उपराष्ट्रपतिको अभिलेख त उनको नाममा छँदैछ । नयाँ राष्ट्रपतिको हैसियतमा नीतिगत परिर्वतन गर्ने अवसर उनलाई पर्याप्त हुनेछ ।
अक्सर सफल र शक्तिशाली राष्ट्रपतिको नाममा एक ‘डक्ट्रिन’ नै बन्ने गर्दछ । त्यसले अमेरिकी र विश्व इतिहासमा विशेष छाप छोड्ने गरेको छ । दोस्रो राष्ट्रपति अलेक्जन्डर हेमिल्टनका सोच र नीतिहरूले ‘फेडेरालिष्ट पेपर’ बन्यो । तेस्रो राष्ट्रपति थोमस जेफरसनका चिन्तन र नीतिलाई ‘ जेफरसनियन थट’ भन्ने गरिन्थ्यो ।
फ्राङ्किलन डी रुजबेल्टमा नीति र निर्णयहरू ‘न्यू डिल’ का नामले विश्वविख्यात भए । रोनाल्ड रेगनको नाममा ‘रेगनिज्म’ बन्यो । जेम्स मुनरोको नाममा ‘मुनरो डक्ट्रिन’, विन्ड्रो विल्सनको नाममा ‘विल्सन पोलिसी’ र रिचार्ड निक्सनको नाममा ‘निक्सन डक्ट्रिन’ बने । निक्सनसँग कतिपयले हेनरी किसिञ्जरको समेत नाम जोडेर ‘निक्सन-किसिञ्जर डक्ट्रिन’ भन्ने गर्दछन् ।
विशेषतः ती राष्ट्रपतिले यस्तो जस वा ऐतिहासिक महत्त्व पाए, जसले तत्कालीन समयको विश्व परिवेश, आर्थिक नीति र कूटनीतिक सम्बन्धमा उल्लेखनीय फेरबदल ल्याए । आफ्ना नीतिमार्फत विश्व अर्थतन्त्र, मानवीय विकास र शक्ति सन्तुलनको फेरबदलमा योगदान गरे ।
ती जो नोभेम्बरको निर्वाचनमा ह्यारिस-वाल्ज जोडाले चुनाव जितोस् भन्ने कामना गर्दछन्, उनीहरू वर्तमान राष्ट्रपति जो बाइडनभन्दा शक्तिशाली र प्रभावकारी नेतृत्वको चाहना राख्दछन् ।
डेमोक्रेटिक मतदाताको अपेक्षा छ कि कमलाले इतिहासमा ‘ह्यारिस डक्ट्रिन’ स्थापित हुनेगरी काम गरून् । कम्तीमा निर्वाचन प्रक्रियामा व्यक्त भइरहेका अभिव्यक्ति र सञ्चारमाध्यममा विश्लेषणले त्यसको सङ्केत गर्दछ । मानौँ कि कमलाले चुनाव जितिन् तर, के इतिहास र विश्व परिवेशले उनलाई त्यो स्तरको नीतिगत सुधार गर्ने अवसर देला ?
विश्लेषक ठान्दछन् कि विश्व यतिखेर फेरि एकपटक नयाँ मोडमा आइपुगेको छ । ‘ह्यारिस डक्ट्रिन’ स्थापित हुनेगरी काम गर्न सकिने पर्याप्त ठाउँ छन् ।
अब प्रश्न उठ्छ, ती के-के हुन् ?
दुई पूर्वडेमोक्र्याटिक राष्ट्रपति बिल क्लिन्टन र बराक ओबामाले वासिङ्गटन कन्सेन्सस, शीतयुद्धको अन्त्य, नवउदारवादका मान्यता, विश्व व्यापार सङ्गठनको स्थापना, विश्व वित्तीय सङ्कट र आतङ्कवादविरुद्धको प्रतिरोधको युगमा काम गरेका थिए ।
आज यी नीतिहरू त्यति प्रभावकारी छैनन्, जति हुन हुने ठानिएको थियो । कोभिड महाव्याधि र यूक्रेन युद्धपछिको विश्व अर्थतन्त्रमा निक्कै ठूलो संरचनात्मक सुधार आवश्यक छ । ‘ह्यारिस डक्ट्रिन’ को पहिलो ‘स्पेश’ यहाँनेर हुनेछ । उनले विश्व अर्थतन्त्रका नयाँ चुनौतीलाई कुनै ठोस नीतिगत आधार र आकार दिन प्रयास गर्नुपर्ने छ ।
दोस्रो अवसर विश्वको शक्ति संरचनामा आएको परिवर्तनलाई बहुपक्षीय संस्था विशेषत संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा हुने ‘भिटो’ को पुनर्संरचनामार्फत सम्बोधन गर्नु, गराउनु हुन सक्नेछ ।
दोस्रो विश्वयुद्ध अन्त्यको पृष्ठभूमिमा निर्माण भएको संयुक्त राष्ट्र सङ्घको संचरना अहिले त्यति उपयुक्त देखिँदैन । भारत, ब्राजिल, दक्षिण अफ्रिका, जर्मनीजस्ता शक्तिहरू सुरक्षा परिषद्मा हुन आवश्यक देखिन्छ । यी राष्ट्रले भिटो दाबी गर्दै आइरहेका छन् । ‘बहुध्रुवीयता’अनुरूपको ‘बहुपक्षीयता’ ह्यारिस डक्ट्रिनले छुन सक्नुपर्ने महत्त्वपूर्ण पक्ष हो ।
कथित ‘नयाँ शीतयुद्ध’ भनिएको अमेरिका-चीन सम्बन्धको अन्योललाई उनले चाहेमा एक निश्चित आकार दिन सक्नेछन् । चीनको आर्थिक विकास र सैन्य शक्तिले मात्र उसलाई ‘नयाँ विश्व व्यवस्था’ को केन्द्र बनाउँदैन । किनकि राजनीतिक प्रणालीका रूपमा ‘अलोकतन्त्र’ समकालीन विश्वलाई मान्य हुने कुनै आधार देखापरेको छैन ।
ह्यारिसले दक्षिण चीन सागर र इन्डो-प्यासिफिक क्षेत्रमा तनाव बढाउनेभन्दा घटाउने कामलाई जोड दिन सक्नेछिन् । समकालीन विश्व व्यवस्थाको अर्थ लोकतन्त्रको विश्वव्यापी सुनिश्चितता र बढावा पनि हो । कमलाले अमेरिकाप्रतिको रुझान र पक्षधरताबाट हैन, लोकतन्त्रका आदर्श मानकबाट लोकतान्त्रिक अभ्यासको सम्परिक्षण गर्ने प्रणाली स्थापित गर्न सकिन् भने त्यो विश्वका लागि ठूलो योगदान हुनेछ । जो बाइडनले पनि यस काममा थोरै रुचि देखाएकै हुन् । उनको ‘लोकतन्त्र शिखर सम्मेलन’ को प्रयास त्यसैको अभिव्यक्ति थियो ।
ह्यारिस एक ‘खाली स्लेट’ हुन् भन्ने आरोप त्यतिखेर मात्र खण्डित हुनेछ, जब उनका नीति विश्वलाई उचित र ‘बोल्ड’ लाग्ने छन् । अर्थात् कथित नयाँ शीतयुद्धको शिथिलीकरण र लोकतन्त्रको सशक्तीकरण ह्यारिस डक्ट्रिनको तेस्रो र चौथो तत्त्व हुन सक्नेछन् ।
रुस-यूक्रेन र गाजा युद्धको निप्टारा ‘ह्यारिस डक्ट्रिन’ निर्माणको पाँचौँ ठूलो अवसर हो । यो अवसरको उपयोग गर्न उनले ‘बाइडन नीति’ बाट बाहिर निस्कन सक्नु पर्दछ ।
ध्वंस र मानवीय विपत्तिको पराकाष्ठा बन्दै गएको यूक्रेन युद्धलाई वार्ताद्वारा कुनै बिन्दुमा सम्झौता गराउन सके सायद त्यो ठूलो उपलब्धि हुनेछ । यूक्रेनलाई बाइडनकालमा जस्तै एकोहोरो सहयोग गरेर यो काम हुन सक्ने छैन । ह्यारिसले रुस र पुटिनको समेत विश्वास जित्न सक्ने गरी नेटोका सीमा निर्धारण गर्नुपर्ने छ ।
उग्रपन्थी प्यालेस्टाइनी समूह हमासलाई शान्तिवार्तामा ल्याउने, इजरायलले अधीनस्थ गरेका क्षेत्रहरू फिर्ता गर्ने र ‘दुई राज्य अवधारणा’अनुरूप प्यालेस्टाइनलाई अन्तर्राष्ट्रिय मान्यता दिने, नयाँ निर्वाचनमार्फत प्यालेस्टाइनमा लोकतन्त्र सुनिश्चित गर्ने हो भने त्यो समकालीन विश्वका लागि धेरै ठूलो उपलब्धि हुनेछ ।
छैठौँ अवसरको आप्रवासन विमर्शको समायोजन । आप्रवासन नीतिमा सङ्कुचित हुँदै गएको विश्वको सोचलाई मानवअधिकार, शरणार्थी समस्याको समाधान र वैश्विक जनसङ्ख्या असन्तुलनको सन्दर्भमा यथोचित सहजीकरण गर्नु उनका लागि अर्को अवसर हो ।
विशेषतः ‘युरोपको इस्लामीकरण’ को नाममा महादेशमा शक्तिशाली हुँदै गएका चरम दक्षिणपन्थी राजनीतिक समूहको दबाबबाट विश्वलाई उनले राहत दिन सक्नेछिन् । त्यसका लागि खुला, उदार र आप्रवासनमैत्री अमेरिका विश्वकै अपेक्षा र चासो हो ।
यस्ता राजनीतिक शक्तिले विश्वभरि ‘नवफासीवादको जोखिम’ बढाएका छन् । अमेरिका आप्रवासन नीतिमा कठोर हुँदै गए युरोपेली राष्ट्रवादको भावना झन बलियो हुनेछ ।
बाराक ओबामाकालमा पनि यो मुद्दा उत्तिकै चर्को थियो । तर, उनले साहसका साथ ‘अमेरिका आप्रवासीहरूको देश हो’ भनेका थिए । आप्रवासनलाई नियमन र वैधानिकीकरण गर्ने दायित्वबाट अबको युगमा कुनै पनि राज्य च्युत हुन सक्दैनन् तर, तिनले दिने नीतिगत खुकुलोपनले विश्वका धेरै मानिसलाई भविष्य खोज्ने अवसर दिनेछ ।
टिम वाल्ज यस मानेमा एक मानक हुन सक्दछन् । उनले आफ्नो राज्य मिनेसोटामा आधिकारिक कागजात नपुगेका आप्रवासीलाई पनि चालक अनुमतिपत्र दिने नियममा हस्ताक्षर गरेर एक उदारवादी गभर्नरको छवि बनाएका छन् ।
ह्यारिसको अन्तिम वा सातौँ अवसर अमेरिकी अर्थतन्त्रका आन्तरिक पक्षको सबलीकरण, नागरिक सेवाको प्रभावकारिता, विश्व जलवायु परिवर्तन र नवीकरणीय ऊर्जा प्रयोगसँग जोडिएका सवाल हुनेछन् । जस्तो कि रुजबेल्टको समयमा ‘न्यू डिल’ आयो, ह्यारिसले ‘ग्रिन न्यू डिल’ लाई अझ धेरै गति दिन सक्नेछन् ।
स्वयम् उनको डेमोक्र्याटिक पार्टीभित्र बर्नी स्यान्डर्सजस्ता ‘सोसलिस्ट’ हरू छन्, जो गरिब र कामदार वर्गका अमेरिकीको आर्थिक सुविधालाई चिन्ता र चासोको विषय बनाइरहन्छन् ।
अमेरिकी अर्थतन्त्रको शिथिलतालाई हल गर्न बाइडनकालीन नीति र प्रयास पर्याप्त नभएको धेरैको ठहर छ । ‘न्यू ग्रिन डिल’ एक सार्वजनिक विमर्श र बौद्धिक अवधारणामा मात्र सीमित नरहेर एक कार्यान्वयन योग्य योजना र विश्व सहमतिका रूपमा विकसित हुन जरुरी छ ।
उपरोक्त तथ्यले के पुष्टि गर्दछ भने कमलासँग ‘ह्यारिस डक्ट्रिन’ स्थापित गर्नका लागि पर्याप्त सवाल, सम्भावना र अवसर हुनेछन् । तर, प्रथमतः उनले चुनाव जित्नुपर्यो र दोस्रो त्यसका लागि आँट र सृजनशील पहलकदमी लिन सक्नुपर्यो ।
Facebook Comment
Comment