को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ

नेपालभ्युज

को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ

काठमाडौं । बंगलादेश अहिले हिंसाको आगोमा जलिरहेको छ । आरक्षण विरोधी प्रदर्शन र हिंसात्मक झडपको बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन् । यसैबीच अहिले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई प्रमुख बनाउने माग पनि उठिरहेको छ ।

अहिले देशको कमान्ड सेनाले लिएको छ । यसैबीच विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूले युनुसलाई सरकारको प्रमुख बनाउने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहानै फेसबुकमा जारी गरिएको भिडियोमा आन्दोलनकारीका नेताहरुले उक्त प्रस्तावको घोषणा गरेका हुन् । उनले नोबेल पुरस्कार विजेता युनुसलाई प्रमुख नियुक्त गर्ने प्रस्ताव गर्दै अन्तरिम सरकारको योजना बनाएका छन् ।

को हुन् मोहम्मद युनुस ?

मोहम्मद युनुसको जन्म २८ जुन १९४० मा भएको थियो । युनुस बंगलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन् । गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई यो पुरस्कार दिइएको हो ।

युनुसले सन् १९८३ मा ग्रामीण बैंक स्थापना गरेका थिए । यसले गरिबहरूलाई स-साना ऋण उपलब्ध गराउँथ्यो । ग्रामीण बैंकमार्फत लघु कर्जाको लागि बंगलादेशले विश्वभर नै व्यापक प्रशंसा पाएको छ । यसले ठूलो सङ्ख्यामा मानिसहरूको जीवनस्तर उकास्न सफल भयो ।

सन् २००९ मा युनुस यूनाइटेड स्टेट्स प्रेसिडेन्शियल मेडल अफ फ्रिडमले सम्मानित भएका थिए । सन् २०१० मा उनले कंग्रेशनल गोल्ड मेडल पनि पाए । यसबाहेक पनि उनले अन्य कयौँ अवार्ड प्राप्त गरेका छन् ।

ग्रामीण बैंकको स्थापना

युनुसले सन् १९६१ देखि सन् १९६५ को बीचमा बंगलादेशको चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्रको अध्ययन गरेका थिए । उनले वेन्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरे । बंगलादेशमा उनले ग्रामीण बैंक स्थापना गरे अनि लघु ऋण कार्यक्रम सुरु गरे ।

सन् २००७ को फेब्रुअरी १८ मा युनुसले नागरिक शक्ति नामक राजनीतिक पार्टी खोले । उनलाई बंगलादेशको एक अदालतले यसै वर्ष श्रम कानून उल्लङ्घनको आरोपमा छ महिनाको जेल सजाय सुनाएको थियो । तर, मार्चमा उनलाई जमानत दिइयो ।

आरोप

नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसलाई पनि २३ लाख डलर हिनामिना गरेको अभियोगमा जेल सजाय सुनाइएको छ । बंगलादेशको सबैभन्दा ठूलो मोबाइल फोन अपरेटर ग्रामीण फोनमा ग्रामीण टेलिकमको ३४ दशमलव २ प्रतिशत सेयर छ ।

ग्रामीण फोन नर्वेको दूरसञ्चार कम्पनी टेलिनोरको सहायक कम्पनी हो । यसबाहेक पनि उनीमाथि २५० मिलियन डलरभन्दा बढीको अपचलन गरेको सम्पत्ति शुद्धीकरण गरेको आरोप पनि लागेको छ । –अमर उजाला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved