‘यो भोटो कसको हो ?’ (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन् ।

‘यो भोटो कसको हो ?’ (तस्वीरहरू)

काठमाडौं । परम्परागत रूपमा मनाइने भोटो देखाउने जात्रा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्तिथिमा जावलाखेलमा सम्पन्न भएको छ । भोटो देखाइएसँगै करिब तीन महिना लामो रातो मत्स्येन्द्रनाथको रथयात्रा विधिवत् रूपमा सम्पन्न भएको हो ।

रातो मत्स्येन्द्रनाथको रथको चारै कुनामा उभिएर गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

कसरी सुरु भयो भोटो देखाउने चलन ?

किंवदन्तीअनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेाबापत् एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो उपहार पाएका थिए । यसरी उपहारस्वरूप पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले खोजी गर्न थाले ।

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मत्स्येन्द्रनाथको जात्रा हेर्न जावलाखेल आउँदा एउटा राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरे । यसरी दाबी गर्दा दुईजनाबीच विवाद भयो, दुवैले भोटो आ-आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् ।

अन्तमा विवाद राजासमक्ष पुगेपछि रातो मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले स-प्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा रातो मत्स्येन्द्रनाथलाई राख्न दिएको किंवदन्तीमा उल्लेख छ ।

सोहीअनुसार हरेक वर्ष राष्ट्रप्रमुख (राष्ट्रपति) को उपस्थितिमा ‘यो भोटो कसको हो ?’ भनी देखाउने जात्रा सुरु भएको हो । गत वैशाख २७ गते रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गराएसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको थियो ।

भोटो देखाइसकेपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट झिकेर खटमा राखी आजै बुङ्मति पुर्‍यासनुपर्ने परम्परा रहिआएको छ ।

रातो मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायणभरि १२ पक्ष अर्थात् ६ महिना बुङ्मतिमा र सूर्य उत्तरायणभरि १२ पक्ष अर्थात्‌ पछिको ६ महिना पाटनको मछिन्द्र बःहालमा राख्ने परम्परा रहिआएको छ ।

हिन्दू धर्मावलम्बीहरूले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved