सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनसहित शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

झन्डै आधा घण्टा सभालाई सम्बोधन गरेका उनले भने, “विश्वासको मत पाउँ भन्ने प्रस्तावसहित त आएको हुँ । तर, यसो हेर्दा मत पाइन्छ जस्तो देखिँदैन । त्यसैले अरु नेताहरूले भन्नुभएझैँ मार्गप्रशस्त गर्दछु ।”

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सत्ता समीकरण बनाएसँगै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीको पक्षमा १४ मात्रै सांसद थिए । जबकि उनी नेतृत्वको सरकारले निरन्तरता पाउनका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्थ्यो ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन सत्ता समीकरणअनुसार केन्द्रमा सँगै रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ पक्षसँगै स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारीले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै राजीनामा दिएका हुन् ।

यससँगै अब त्यहाँ कांग्रेस-एमालेलाई नयाँ सरकार बनाउने बाटो खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved