काठमाडौं । प्रतिनिधि सभाका विभिन्न चार समितिका बैठक बस्दैछन् । बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने कार्यसूची छ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरी÷निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।
बिहान ११ बजे नै बस्ने अर्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक भने दिउँसो १ बजे बोलाइएको छ । बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
Facebook Comment
Comment