पार्टीको बैठक बालुवाटारमा नराख्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता, सचिवालय बैठक होटलमा बस्दै

नेपालभ्युज

पार्टीको बैठक बालुवाटारमा नराख्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता, सचिवालय बैठक होटलमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहिबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोहराको बाढी पसेपछि एमालेको बैठक होटलमा बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आएको सुझावलाई मनन गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराखिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सकेसम्म पार्टीको बैठक प्रधानमन्त्री निवासमा नराख्ने प्रतिबद्धता जनाएका हुन् ।

उनकै निर्देशन बमोजिम सचिवालयको बैठक अनामनगरको हनुमानस्थान नजिकको होटलमा बस्ने भएको हो ।
बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने बताइएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आज बस्ने बैठकले अनुमोदन गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved