इजरायलसँगको युद्धको मूल्य

इस्माइल हानिया: शरणार्थी शिविरदेखि हमासको शीर्षसम्म, तीन छोरा गुमाएपछि अन्त्यमा आफैँ मारिए !

नेपालभ्युज

इस्माइल हानिया: शरणार्थी शिविरदेखि हमासको शीर्षसम्म, तीन छोरा गुमाएपछि अन्त्यमा आफैँ मारिए !

काठमाडौं । इरानको राजधानी तेहरानमा शीर्ष नेता इस्माइल हानियाको हत्या भएको हमासले जनाएको छ ।

बुधबार हमासले विज्ञप्ती जारी गर्दै तेहरानस्थित हानियाको घरमा इजरायलले आक्रमण गरेको र उनको मृत्यु भएको बताएको छ । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

यस सम्बन्धमा इजरायलले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । तर, इजरायलका सम्पदामन्त्री अमिचाय इलियाहुले भनेका छन्- ‘संसारबाट फोहोर सफा गर्ने यो सही तरिका हो । अब कुनै काल्पनिक शान्ति, कुनै आत्मसमर्पण सम्झौताहरू हुने छैनन् ।’

इजरायली रक्षा बलले भने हानियाको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान गएका थिए । हमासका एक वरिष्ठ अधिकारी मुसा अबु मारजोकले उक्त आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै बदला लिन आह्वान गरेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर(आईआरजीसी)का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । आईआरजीसीले घटनाको कारण तुरून्तै  थाहा नभएको तर, अनुसन्धान भइरहेको जनाएको छ ।

इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो, यस कारबाहीमा अहिलेसम्म ३८ हजारभन्दा बढी मानिस मारिएका छन् ।

सन् २०२४ अप्रिलमा इजरायलले एउटा गाडीमा तीनवटा मिसाइल प्रहार गरेको थियो । यस हमलामा हानियाका तीन छोरा, तीन नातिनातिना र एक चालक मारिएका थिए ।

को हुन् हानिया ?

हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख हुन् । उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । हानियाको थर अबु-अल-अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।

इजरायलले सन् १९८९ मा हानियालाई तीन वर्ष जेलमा राखेको थियो । यसपछि उनलाई हमासका धेरै नेताहरूसँग मार्ज अल-जुहुरमा निर्वासन गरिएको थियो । यो इजरायल र लेबनान बीचको नो-म्यान भूमि हो । उनी त्यहाँ एक वर्ष बसे ।

आफ्नो निर्वासन सकिएपछि हानिया गाजा फर्किए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । त्यसपछि उनको हैसियत बढ्यो ।

हमासले सन् २००६ फेब्रूअरी १६ मा हानियालाई प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर, त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए । तर, हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरेका थिए ।

इज्ज अल-दिन अल-कासम ब्रिगेडले गाजा पट्टी कब्जा गरेको कारण यो गरिएको थियो । उनले अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरूलाई निष्कासन गरेका थिए । एक सातासम्म चलेको उक्त भिडन्तमा धेरै मानिस मारिएका थिए ।

उनले आफ्नो सरकारले आफ्नो कर्तव्यलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए ।

हानिया सन् २०१७ मे ६ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भएका थिए । अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो ।

हमासको राजनीतिक नेतृत्व हानियालगायतका नेताहरु १२ वर्षदेखि कतारमा बस्दै आएका थिए । कतारसँग हमासको राम्रो सम्बन्ध थियो ।

न्युयोर्क टाइम्सका अनुसार इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले मंगलबार नै इस्माइल हानियालाई भेटेका थिए । इरानको हानिएमा भएको आक्रमणका कारण त्यहाँका ठूला नेताहरूको सुरक्षामा पनि प्रश्न उठिरहेको छ । आक्रमण हुनुभन्दा केही घण्टाअघि इरानका शीर्ष नेता हानियाको नजिक थिए ।

बन्धकहरूको सुरक्षामा प्रश्न

विदेश नीति विशेषज्ञ बराक रविदका अनुसार हानियाको मृत्युले हमासद्वारा बन्धक बनाएका इजरायलीसहित अन्य देशका नागरिकहरूलाई ठूलो असर पार्न सक्छ ।

याह्या सिनवार हमासको सैन्य अपरेशनको जिम्मेवारीमा छन्, जबकि हानिया संगठनका सबै राजनीतिक र कूटनीतिक निर्णयहरूको लागि जिम्मेवार थिए । बन्धकहरूको रिहाइ र युद्धविराम सम्बन्धी निर्णयहरू हानियाले लिइरहेका थिए । उनको अनुपस्थितिले बन्धकहरूको सुरक्षालाई जोखिममा पार्न सक्छ ।

इस्लामिक संसारसँग हमासको सम्बन्ध
हमास एक सुन्नी इस्लामिक संगठन हो, जबकि इरान एक शिया मुस्लिम देश हो । उनीहरूको निकटताको कारण इस्लामिक राजनीति हो ।

साउदी अरेबिया र इरानबीच शत्रुता रहेकोले हमासलाई साउदी अरेबियासँगको दूरी बढाउनु आवश्यक थियो । यस्तो अवस्थामा हमास एक देशको पक्षमा मात्र नजिक रहन सक्थो ।

मध्यपूर्वमा इरान जत्तिकै खुलेर इजरायलको विरोध कसैले गर्दैन । यस्तो अवस्थामा हमास र इरानबीच निकटता हुनु स्वाभाविक हो ।

सन् २००७ मा हमासले प्यालेस्टिनी प्राधिकरणको लागि चुनाव जित्यो र यो जीतपछि यसको प्रासंगिकता अझ् बढ्यो ।

तर, हमास र साउदी अरबबीचको सम्बन्ध भने स्थिर रहन सकेन । सन् २०११ मा जब अरब वसन्त वा अरब क्रान्ति सुरु भयो, सिरियाका मानिसहरू पनि बसर अल-असदविरुद्ध सडकमा उत्रिएका थिए । इरान बसर अल-असदको साथमा उभिएको थियो भने यो हमासका लागि असहज थियो ।

यस्तो अवस्थामा इरान र हमासबीचको सम्बन्धमा दरार आएको थियो तर, अरब स्प्रिङलाई लिएर साउदी अरबको व्यवहार पनि हमासलाई मन परेको थिएन ।

साउदी अरेबियाले इजिप्टमा निर्वाचित सरकारको विरोध गरिरहेको थियो । यस्तो अवस्थामा हमास फेरि तेहरानसँग नजिक भयो ।

जुलाई २०१९ मा हमासको प्रतिनिधिमण्डल इरान पुग्यो र इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई भेट्यो । साउदी अरबमा हमासका नेताहरू पनि मुस्लिम ब्रदरहुडसँग जोडिए ।

इजरायल र हमासबीच हाल हिंसक द्वन्द्व चलिरहेको छ र यसमा सयौं महिला र बालबालिकासहित हजारौं मानिसको मृत्यु भइसकेको छ । हमास मध्यपूर्वका प्रतिद्वन्द्वी राष्ट्र इरान र साउदीसँग एकता चाहन्छ ।

हानियाको हत्यामा हमासले के भन्यो ?

विगतका वर्षहरूमा हानियाले यस्ता धेरै शान्ति वार्ताहरूमा भाग लिए, जसमा विश्व नेताहरू संलग्न थिए । जसमा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, कतारका अमिर र चिनियाँ कूटनीतिज्ञ वाङ केजियान रहेका छन् ।

कतारमा रहँदा हानियाले आफ्नो मृत्युले युद्धविराम र बन्धक संकटका विषयमा भइरहेको वार्तामा कुनै असर नपर्ने बताएका थिए । उनले भनेका थिए, ‘मेरो छोरालाई मारेर हमासले आफ्नो मागप्रति झुक्छ भन्ने सोच्नेहरू भ्रममा छन् ।’

इरानी भूमिमा हमास नेतालाई निशाना बनाएसँगै तनाव उत्कर्षमा पुगेको छ । इरानले हमासलाई लामो समयदेखि समर्थन गर्दै आएको छ । इरान र यसका अन्य सहयोगीहरू, हुथी र हिजबुल्लाहले गाजा युद्धमा हमासलाई सहयोग गर्दै आएका छन् ।

यो आक्रमणपछि उनीहरूले प्रतिकारात्मक कारबाही गर्न सक्छन् । हालै इरानले इजरायलमा मिसाइल प्रहार गरेको थियो । यसको जवाफमा इजरायलले पनि ड्रोन आक्रमण गरेको थियो ।

-एजेन्सीहरूको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved