काठमाडौं । मंगलबार राति परेको वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
जलमग्न स्थानमा रातिदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । डुबानमा परेका क्षेत्रबाट तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्दार गरिएको छ ।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा पनि खोला बढेर बाढी पसेको छ ।
महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा सञ्चालित फार्मका चार सय कुखुरा मरेका छन् ।
बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
Facebook Comment
Comment