मकवानपुर : सवारी दुर्घटनामा छ जना घाइते

नेपालभ्युज

मकवानपुर : सवारी दुर्घटनामा छ जना घाइते

बागमती  । मकवानपुरको छुट्टाछुटै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका हुन् ।

सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी नगरपालिका ४ तल्लो कटारी निवासी ३६ वर्षीय दीपक परियार, स्कारपियोमा सवार कटारी नगरपालिका ४ तल्लो कटारी निवासी ५३ वर्षीय राजिव थापा, ४९ वर्षीय पुष्पा थापा, मोरङको विराटनगर महानगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी थापा, ६८ वर्षीय हरि थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको प्रहरीको भनाइ छ । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ कमाने शान्ति टोलस्थित खण्डमा स्कुल बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षीया पूर्णकुमारी थापा घाइते भएकी हुन् ।

मिलनचोकबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना१क ६५३२ नम्बरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री थापा घाइते भएको प्रहरीले जनाएको छ । निधार, हात खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved