संसदमा सवाल-जवाफ : प्रधानमन्त्री बोल्दै गर्दा वर्षमानको आपत्ति, सभामुखको रुलिङ

नेपालभ्युज

संसदमा सवाल-जवाफ : प्रधानमन्त्री बोल्दै गर्दा वर्षमानको आपत्ति, सभामुखको रुलिङ

काठमाडौं । संसदमा प्रधानमन्त्रीसँगको सवाल-जवाफका क्रममा केही रोचक दृष्य देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् ।

बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो ।

सत्तारुढ कांग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए । उनले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने योजना छ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विचौलियाको योजनामा विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गरेबापत तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधनमन्त्री ओलीले दबाब दिएको आरोप लगाए ।

उनले बिचौलियाको सेटिङमा राज्यलाई अर्बौं नोक्सान पुग्ने गरी बक्यौता मिनाहा गर्न लागिएको दाबी गरेका थिए । ओलीले दाहालको नाम उल्लेख नगरी प्रतिवाद गरे ।  उनले गरिमामय संसदमा सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभावी नबोल्न चेतावनी दिए ।

आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्यादित, हल्का र हावादारी प्रश्न नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रधानमन्त्री बोलिरहँदा पुनले उठेर हात उठाए । सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । तर, पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्री एकछिन रोक्नुस’, भन्दै पुनलाई बोल्न दिए ।

पूर्व अर्थमन्त्री पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा प्रधानमन्त्रीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए ।

‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ?’ उनले आक्रामक रुपमा भने ।

पुनले थप बोल्न खोज्दै गर्दा सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे ।

‘माननीय सदस्य ध्यानार्कषण भएको छ । मैले त्यतै लान कोसिस गरेको छु’, सभामुखले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved