उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलीभगत गरेको आरोपमा नेपाली कांग्रेस-नेकपा (एमाले) का नेताहरू जोडिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेतामाथि पनि ‘मानव तस्करी’को आरोप लागेको छ ।

नेपालभ्युज

उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलीभगत गरेको आरोपमा नेपाली कांग्रेस-नेकपा (एमाले) का नेताहरू जोडिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेतामाथि पनि ‘मानव तस्करी’को आरोप लागेको छ ।

रास्वपा पृष्ठभूमि भएकी उपसभामुख इन्दिरा रानाले बिचौलियासँग साँठगाँठ गरेर केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको आरोप लागेको हो । उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।

रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मानव तस्करीको फाइल खोल्न लाग्दा डराएर अरू दलले सरकार ढालेको आरोप लगाएका थिए । तर, उनकै दलबाट उपसभामुख बनेकी रानासमेतले अमेरिकामा युवा लैजान सिफारिस गर्ने गरेको खुलेको हो ।

एक पीडितको दाबीअनुसार उपसभामुख रानाको नाम लिएर केही व्यक्तिले अग्रीम १० लाख रुपैयाँका दरले पैसा उठाएका थिए । अमेरिका पुर्‍याउने भन्दै उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङबाट रकम लिएको आरोप पनि लागेको छ । तर, यीमध्ये कसैले पनि भिसा पाएनन् ।

उपसभामुख रानाले सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू-६७’ फोरमको कार्यक्रममा आफूसँगै लैजाने भन्दै पाँच जनालाई भिसा दिन आग्रह गरी अमेरिकी दूतावासको कन्सुलर जनरललाई पत्र पठाएकी थिइन् ।

उनले २६ फेब्रुअरी २०२३ अर्थात् १४ फागुन २०७९ मा दूतावाससमक्ष सिफारिस पत्र पठाएकी थिइन् । तर, उनले लैजान खोजेका व्यक्ति र उनको समेत भिसा आएको थिएन । तर, निकै जोडबल गरेपछि उनलाई भने अमेरिकाले पछि भिसा उपलब्ध गराएको थियो ।

बल्लतल्ल आफ्नो मात्र भिसा आएपछि उपसभामुख राना उक्त कार्यक्रममा सहभागी हुन २६ फागुनमा कतार एयरको विमानबाट दोहा हुँदै अमेरिका गएकी थिइन् । एक्लै अमेरिका गएकी राना एक साताको भ्रमण पछि स्वदेश फर्किएकी थिइन् ।

यसअघि एनआरएनए बेलायत (यूके)को निमन्त्रणामा मार्च २ तारिखमा लन्डन जान लाग्दा पनि उपसभामुख रानाले भिसा पाएकी थिइनन् । जसकारण अन्तिम समयमा उनको भ्रमण स्थगित हुन पुगेको थियो । अमेरिकामा भिसा सिफारिस गरेको पत्र बाहिरिएपछि उपसभामुख राना विवादमा तानिएकी छिन् ।

राज्यबाट भीआईपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ ।

तर, उपसभामुख रानाले भने सिधै आफैँ पत्र लेखेकी थिइन् । त्यो पनि आफूलाई मात्र नभइ अरू मानिसको लागि पनि उनले सिफारिस गर्ने गरेको पाइएको छ । यसबारे थप तथ्य सार्वजनिक गर्ने क्रममै रहेको पीडितले बताएका छन् ।

घटना बाहिर आएपछि राना भने मौन छिन् । नेपालभ्युजले पटक-पटक सम्पर्क गर्न खोज्यो । धेरै पटकको प्रयासपछि एक सहयोगीले फोन उठाएर बीचमै काटेका थिए । कतिपय मिडियामा भने उपसभामुख रानाले आफूले सिफारिस नगरेको बताएकी छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहमा राज्याधिकारी एवम् राजनीतिकर्मी नै संलग्न भएको तथ्य यसअघि बाहिरिएका थिए । त्यसबारे प्रहरी प्रशासनले अनुसन्धान अघि बढाइरहँदा उच्च पदस्थ व्यक्तिले पैसा लिएर भिसा सिफारिस गर्दै आएको अर्को घटना सार्वजनिक भएको हो ।

हेर्नुहोस् उपसभामुख रानाले अमेरिकी दूतावासमा पठाएको सिफारिस पत्र-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved