सिमलताल पहिरो : नवलपुरमा थप चार शव भेटिए

नेपालभ्युज

सिमलताल पहिरो : नवलपुरमा थप चार शव भेटिए

नवलपरासी । चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज थप चारवटा शव फेला परेका छन् ।

आज हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जिल्लाको नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको बताए ।

पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरामा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको पौडेलले बताए।

सिमलताल पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ । अन्य आठ शवको पहिचान खुल्न बाँकी छ ।

“नवलपुरतर्फ पानीको बहाव बढी भएका कारण सिमलताल पहिराका यात्रुहरुको शव बगेर यता आउने गरेको हामीले पायौँ”, प्रहरी नायब उपरीक्षकले भने, “कति स्थानमा बालुवाले पुरेको अवस्थामा शव भेटिएकाले हामीले त्यसैअनुसार खोजी गरिरहेका छौँ ।”

शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको पौडेलले बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved