काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ ।
अनलाइन मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम कारबाही गरिएको महानगरले जनाएको छ ।
असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा बर्गर हाउसले उपभोक्तालाई पठाएको म म को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय बर्गर हाउसलाई जानकारी गराएका थिए ।
महानगरका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्छन्, ‘गुनासो आएपछि बर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानबिन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारबाही गरिएको हो ।’
उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका बर्गर हाउसका सञ्चालक बिक्रम गिरीले म:म:को अचारमा गन्ध आएको स्वीकार गरेका थिए ।
यसअघि महानगरले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रूपैयाँ जरिवाना गरेको थियो ।
Facebook Comment
Comment