९९ प्रतिशत विश्वासको मत पाएका प्रचण्ड २२ प्रतिशतमा झरेर पदमुक्त !

नेपालभ्युज

९९ प्रतिशत विश्वासको मत पाएका प्रचण्ड २२ प्रतिशतमा झरेर पदमुक्त !

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौँपटक संसद्‌बाट विश्वासको मत लिँदा फेल भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएर पदमुक्त भए ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा ६३ सांसदले मात्रै समर्थन गरे भने विपक्षमा १९४ सांसद उभिए ।

एमालेसँग दुई र कांग्रेससँग एकपटक गरेर तीनपटक गठबन्धन बदलेका प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिँदा पद जोगाउन सकेनन् ।

एमालेलगायतका दलहरूले सरकार छाडेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम उनले पाँचौँपटक विश्वासको मत लिएका हुन् ।

२०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपल्ट त्यसै महिनाको पुस २६ मा विश्वासको मत लिएका थिए । एमालेको प्रमुख समर्थनमा प्रधानमन्त्री भए पनि उनलाई प्रमुख प्रतिपक्ष कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

त्यति बेला प्रचण्डले झन्डै सर्वसम्मत अर्थात् २६८ मत पाएका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल र र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबाहदुर केसीबाहेक सबैले प्रचण्डलाई मत दिएका थिए । प्रचण्डले कूल ९९ प्रतिशत मत पाएका थिए ।

एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले उक्त पार्टीलाई छाडेर कांग्रेससँग जोडिएपछि दोस्रोपटक ०७९ चैत ५ मा विश्वासको मत लिएका थिए । त्यति बेला प्रचण्डले १७२ मत प्राप्त गरेका थिए । एमालेलेले मत दिएको थिएन ।

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, खुल्यो नयाँ सरकार गठनको बाटो

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यमा जोडिएपछि कांग्रेस सरकारबाट अलग भएका कारण प्रचण्डले गत फागुन ३० मा तेस्रोपटक विश्वासको मत लिनुपरेको थियो । त्यतिबेला उनले १५७ मत प्राप्त गरेका थिए । केही समयपछि सरकारमा सहभागी जसपा नेपाल सरकारबाट अलग भयो । फेरि प्रचण्डले २०८१ जेठ ७ मा चौथोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला पनि उनले १५७ मत नै प्राप्त गरेका थिए ।

यसपटक प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१ र नेकपा (एकीकृत समाजवादी) का १० गरी ६३ सांसदले समर्थन जनाए ।

यस्तै यस्तै कांग्रेस-एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवदी पार्टी नेपाल, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) विपक्षमा उभिए ।

स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र योगेन्द्र मण्डल पनि प्रचण्ड सरकारको विपक्षमा उभिए ।

यसरी पहिलोपटक ९९ प्रतिशत विश्वासको मत पाएका प्रचण्ड २२ प्रतिशत हुँदै पदमुक्त भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved