भ्युजटक

नागरिक पहिलो अभियानको ‘प्रेसक्रिप्सन’- स्वाभिमान र समृद्धि (भिडिओवार्ता)

प्रवक्ता सिंह ठान्छन् कि अब पुराना दल र नेताहरू सुध्रनै नसक्नेगरी बिग्रिसके । उनी भन्छन्, “उनीहरू अब चाहिँदैनन् देशका लागि । उनीहरू यति बिग्रिसके कि अब सुध्रँदैनन् । यत्रो भ्वाङ परिसके कि अब रफु गर्नै सकिँदैन ।”

काठमाडौं । २०८० को मंसिरतिर घोषणा भएको नागरिक पहिलो अर्थात् पिपुल फर्स्ट अभियानमा मूलत: पहिले कुनै पार्टीमा रोज्जा जिम्मेवारीमै रहेका तर, त्यही पुरानै ढर्रा र ढाँचाबाट पार नलाग्ने देखेकाहरू जोडिएका छन् ।

जस्तै केशव दाहाल, डम्बर खतिवडा, प्रशान्त सिंहलगायत । उनीहरूले विगतमा कुनै पार्टीमा राम्रै पोर्टफोलियो पाएका थिए । तर, उनीहरूलाई लाग्यो कि पुरानै पार्टी, पात्र र प्रवृत्तिबाट पार लाग्दैन । यसपछि उनीहरूले स्वत: घोषणा गरेका हुन् नागरिक पहिलो अभियान ।

उनीहरू नामजस्तै नागरिकलाई पहिलो मानेर काम गर्न चाहन्छन् । हाइली डेमोक्रेटिक तवरबाट काम गर्दै जाने तर, त्यो नितान्त नागरिकका हुनुपर्ने उनीहरूको ध्येय छ ।

उसोभए त्यो क्रम कसरी अगाडि बढ्छ ? नागरिकलाई पहिलो मानेर काम गर्ने प्रक्रिया के हो ? परन्तु, अभियान पनि पुरानै दलहरूको हालतमा पुग्ने त होइन ? अनि समकालीन राजनीतिक दल, नेता र तिनका प्रवृत्तिमाथि अभियान कसरी नजर राख्दछ ? यी नै प्रश्नहरूको जवाफ भ्युजटकमार्फत अभियानका प्रवक्ता प्रशान्त सिंहसँग खोज्ने प्रयास गरिएको छ ।

***

अभियान के हो र यसले कसरी काम गर्छ ?

प्रवक्ता सिंह जनताले जम्माजम्मी स्वाभिमान र समृद्धि खोजिरहेको औँल्याउँछन् । र, नागरिक पहिलो अभियान त्यसकै ‘डेलिभर’का निम्ति आधार तय गर्ने क्रममा रहेको उनको भनाइ छ ।

“जनताले यी दुईवटाबाहेक केही खोजेकै छैनन् । जति माथापच्ची गर्दा पनि हामीले तेस्रो कुरा पत्ता लगाउनै सकेनौँ । यी नै दुईवटा कुरा जनताले खोजेका हुन् । त्यसैले यो हाम्रो प्रेसक्रिप्सन हो,” उनले भने ।

त्यसो त अभियानका अभियन्ताहरू ६० भन्दा बढी जिल्लामा पुगेर नागरिक-संवाद गरिसकेका छन् । अभियानको नामसमेत नागरिकले नै प्रदान गरेको प्रवक्ता सिंह बताउँछन् ।

नागरिकलाई पहिलो मानेर आफूहरू अगाडि बढ्ने तर, यसको फल आफैँले खान नखोज्ने वचन छ प्रवक्ता सिंहको । भन्छन्, “तपाईं आँपको बोट रोप्नुहुन्छ भने त्यसको फल तपाईं नै खान खोज्नुहुन्न । हामी पनि त्यही हो, अहिलेका लागि स्वाभिमान र समृद्धिका लागि आधार तयार गर्नेछौँ । तर, त्यसको नतिजा आफैँ खान खोज्दैनौँ । सही तरिकाले पायौँ भने त खुसी हौँला हामी पनि तर, खानैपर्छ भन्ने अपेक्षा राख्दैनौँ ।”

प्रवक्ता सिंहका अनुसार अभियान २०८४ को आवधिक निर्वाचनअघि नै दलको स्वरूपमा अगाडि बढ्न सक्छ । “व्यापक छलफल हुँदैछ, अझै गर्छौँ । कतिपय साथीहरूले दलकै रूपमा विकसित हुनुपर्छ भन्नुहुन्छ । छलफल गरेर हामी अगाडि जान्छौँ,” उनले भने ।

तर, अभियान पार्टीकै रूपमा अभियान अगाडि बढ्यो भनेपनि अरु पार्टीहरूमा जस्तै एक व्यक्तिलाई सबै ‘पावर’ नदिइने बताउँछन् प्रवक्ता सिंह । उनका अनुसार अभियानले निश्चित सदस्यीय कार्यदल बनाउनेछ र पार्टीले सीईओजस्तै एक व्यक्ति नियुक्त गर्नेछ । जसले कार्यदलले गरेको निर्णयहरूको कार्यान्वयन मात्रै गर्छ ।

“अरु केही पावर नै हुन्न उसँग,” प्रवक्ता सिंहले भने, “निर्णयको अधिकार कार्यदलसँग हुन्छ ।”

‘राजनीतिमा महाभाष्य छ, त्यसलाई तोड्नुपर्छ’

प्रवक्ता सिंह अहिले ठूलो राजनीतिक अन्योल रहेको औँल्याउँछन् । त्यसको निराकरणका लागि आफूहरूको अभियान भएको दाबी उनको छ ।

अन्योलताको उदाहारण दिन्छन् उनी, “जस्तो कि दक्षिणपन्थीले मर्नेगरी एकातर्फ तान्छ, वामपन्थीले अर्कोतिर मर्नेगरी तान्छ । अब एकातर्फ मात्रै होइन, सबैतिर ख्याल गरेर अगाडि बढे बल्ल सही रूपमा अगाडि बढ्न सकिन्छ नि । हामीले त्यसरी प्रयास गर्छौँ ।”

उनी यसलाई ‘ग्र्यान्ड न्यारेसन’ अर्थात् महाभाष्य भन्छन् । नागरिकलाई यसबाट बाहिर निकाल्नका लागि आफूहरूले काम गर्ने उनको दाबी छ । “यो महाभाष्य हामी तोड्न चाहन्छौँ । पछिल्लो समय रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ, गोपी हमालहरूले अलिअलि त त्यो काम गरेका हुन् । त्यसमा उहाँहरूलाई धन्यवाद दिनुपर्छ,” उनी भन्छन् ।

प्रवक्ता सिंह नेपालका पुराना पार्टीहरूले आफूलाई जनताका बीचमा जबरजस्त गोत्रका रूपमा स्थापित गरेको टिप्पणी गर्छन् । “दिनरात त्यही पार्टीलाई गाली गर्छन् उनीहरू तर, मतचाहिँ उसैलाई दिन्छन् । उनीहरू सोच्छन् कि त्यस पार्टीलाई मत दिइनँ भने त पाप लाग्छ । किनकि ती दलहरूले त्यसैगरी आफूबारे जनतामा माइन्डसेट बनाइदिएका छन्,” उनी भन्छन् ।

अब यसलाई ‘अग्रपथ’मार्फत परिवर्तन गर्ने भनाइ प्रवक्ता सिंहको छ । “राम्रा कुराहरूलाई लिएर जाने र नराम्रा कुरालाई छाडेर हिँड्ने, दक्षिणपन्थी वा वामपन्थी भनेर मात्रै अगाडि नबढ्ने अर्थात् सबैलाई बराबरी ठान्दै अगाडि जाने कुरालाई हामीले अग्रपथ भनेका छौँ,” उनी स्पष्ट पार्छन्, “बिरालो कालो होस् कि सेतो, मतलब भएन । तर, त्यसले मुसा मार्न सक्नुपर्छ ।”

‘पुराना दल र नेता धमिरावादी हुन्’

प्रवक्ता सिंह ठान्छन् कि अब पुराना दल र नेताहरू सुध्रनै नसक्नेगरी बिग्रिसके । उनी भन्छन्, “उनीहरू अब चाहिँदैनन् देशका लागि । उनीहरू यति बिग्रिसके कि अब सुध्रँदैनन् । यत्रो भ्वाङ परिसके कि अब रफु गर्नै सकिँदैन ।”

उनी पुराना पार्टी तथा नेतालाई ‘धमिरावादी’को संज्ञा दिन्छन् । “अब यिनीहरूलाई राजनीतिक रूपमा नसिध्याइकन स्वाभिमान र समृद्धि आउँदैन । उनीहरूलाई स-समान बिदा गर्नुपर्छ । हिजो उहाँहरूले जमाना गर्नुभएकै हो । तर, अबचाहिँ उहाँहरूको फेजआउट भयो,” उनी भन्छन्, “सचिन तेन्दुलकर सधैँ क्रिकेट खेलिरहँदैन । हिजो कुनै बेला राम्रै खेलेको हो । तर, सधैँ उसले चौका, छक्का हान्दैन ।”

उनी रवि लामिछाने, डा. सीके राउतहरू भने सुध्रिनसक्ने बताउँछन् । उनीहरूमा पनि भ्वाङ त परेको तर, रफु गर्न सकिने टिप्पणी प्रवक्ता सिंहको छ । “अब कहीँ न कहीँबाट परिवर्तनको सुरुवात त गर्नैपर्‍यो नि,” उनी भन्छन् ।

‘फरेन पोलिसीको रिभ्यू हुनुपर्छ’

प्रवक्ता सिंह नेपालको विदेश नीतिमाथि समीक्षा गर्ने बेला भएको बताउँछन् । त्यसो त नेपालले असंलग्नताको नीति मान्छ । अब यसमाथि समीक्षा हुनुपर्ने ठान्छन् उनी ।

“यसका सन्दर्भमा अहिले पनि हामी मूर्खतापूर्ण अन्धकार युगमा बाँचिरहेका छौँ । यसको समीक्षा हुनुपर्छ,” उनी भन्छन्,”हिजो पृथ्वीनारायण शाहले लेखेको नीति नै मान्नुपर्छ भन्ने छैन । हिजो उनले लेकेको पनि हिजोका लागि राम्रै थियो होला । तर, अहिलेलाई यो काम नलाग्ने भइसक्यो ।”

फरेन पोलिसी पनि तीन करोड नेपालीको स्वाभिमान र समृद्धिको कुरा जोडिने उल्लेख गर्दै उनले भने,”ती तीन करोडको स्वाभिमान र समृद्धिका लागि कोसँगमित्रता गर्नुपर्ने हो, गरौँ । कोसँग कस्तो डील गर्नुपर्ने हो, गरौँ । तर, तीन करोड नेपालीलाई पहिलो मानेर गरौँ । तर, सबै देशहरूको सवालमा त्यही एउटै कुरा भनेर नबसौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved