प्रधानमन्त्री प्रचण्डले ५ औं पटक विश्वासको मत लिँदै, कांग्रेस र एमालेले आजै प्रधानमन्त्रीमा दाबी पेश गर्ने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले  ५ औं पटक विश्वासको मत लिँदै, कांग्रेस र एमालेले आजै प्रधानमन्त्रीमा दाबी पेश गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रवार) संसदबाट विश्वासको मत लिँदै छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सहितका दलले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

१८ महिनामा प्रचण्डले पाँचौंपटक विश्वासको मत लिनु पर्ने भएको हो । नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस, एमाले जनता समाजवादी पार्टी नेपाल, राप्रपा, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । कांग्रेस र एमालेले भने आजै नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसक्ने निश्चित रहेकाले शुक्रवारको संसद् बैठकलगत्तै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गर्ने तयारी दुई दलले गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग ८० प्रतिशत सांसद रहेको भन्दै आजै प्रधानमन्त्रीमा दाबेदारी गर्ने जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत नपाउने भएकोले लामो समय देशलाई सरकार विहीनताको अवस्थामा राख्न नहुने भन्दै लेखकले आजै राष्ट्रपतिसमक्ष सांसदको हस्ताक्षर बुझाउने जानकारी दिए ।

दुई दलको सहमति संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

तर माओवादीले भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ । दुई दलबीचको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् ।

त्यसपछिको डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved