काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदैछन् ।
आफू नेतृत्वको सरकारलाई समर्थन गरेको प्रमुख दल नेकपा (एमाले) ले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाएर सरकार गठन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने लगभग निश्चितजस्तै देखिन्छ । अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा-३२) र नेकपा (एकीकृत समाजवादी-१०) ले मात्रै समर्थन गरेका छन् । त्यसमा उनको आफ्नो नेकपा (माओवादी केन्द्र-३२) का सहित ६३ सांसद मात्रै उनको समर्थनमा देखिन्छन् ।
तर, उनी विश्वासको मत लिने आफ्नो कदमबाट पछि हटेका छैनन् । उनले सङ्घीय संसद् सचिवालयलाई विश्वासको मत लिन्छु भनेर पत्र नै पठाइसकेका छन् ।
यता कांग्रेस-एमालेले भने केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्ड भने अर्को सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा धकेलियोस् भन्ने चाहिरहेको र ओलीलाई प्रधानमन्त्री बन्न नदिने चालबाजी खेलिरहेको चर्चा राजनीतिक वृत्तमा छ ।
के यो साँचो हो ? यो र योसँग जोडिएका जिज्ञासा हामीले प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री दीनानाथ शर्मालाई सोधेका छौँ ।
***
प्रधानमन्त्रीको पक्षमा स्पष्ट बहुमत छैन तर, उहाँले विश्वासको मत लिँदै नै हुनुहुन्छ किन ?
त्यो संविधानको पालना हो । अहिले जुन अवस्था बनेको छ, यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संविधानले एक महिनाको समय दिएको छ । त्यहीअन्तर्गत प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।
तर, उहाँले विश्वासको मत पाउनुहोला ?
अहिल्यै थाहा हुन्न, त्यसका लागि २८ गते नै कुर्नुपर्छ । पाउनु पनि सक्नुहुन्छ, नपाउन पनि सक्नुहुन्छ ।
यदि पाउनुभएन भने के हुन्छ ?
संविधानमा भएको व्यवस्थाअनुसार नयाँ सरकार बन्छ । सबैले संविधानको पालना गरेर अर्को सरकार बनाउनुपर्छ ।
त्यो भनेको… ?
त्यो भनेको सरकार बन्ने संवैधानिक प्रक्रियाको पालना भनिएको हो । संविधानमा सरकार बन्ने प्रक्रियाहरू छन्, एकपछि अर्को धारा, उपधारा छन् । त्यसअनुसार बन्नुपर्छ । अहिलेको प्रधानमन्त्री धारा ७६ को उपधारा २ अनुसार बन्नुभएको हो ।
भनेको अर्को सरकार उपधारा ३ अनुसार बन्नुपर्यो ?
त्यो संविधानको मर्म नै भइहाल्यो नि । उपधारा २ अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत नपाउँदा जाने त उपधारा ३ मा नै हो नि । उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाउनु भनेको त्यो उपधाराको उपादेयता तत्कालका लागि सकियो है भनिएको हो नि ।
कतिपयले त उपधारा २ अनुसार नै बन्छ भन्छन् नि प्रधानमन्त्रीले विश्वासको मत नपाए पनि ?
संविधानको पालना गर्ने कि नगर्ने भन्ने कुरा हो मुख्य । उपधारा २ अनुसार बन्छ भन्नेहरू संवैधानिक प्रावधानको पालना नगर्दा पनि हुन्छ भन्नेहरू होलान् । संविधानको पालना हुनुपर्छ, हाम्रो स्पष्ट भनाइ त्यही हो । संविधानको पालना गरिँदा ३ अनुसार नै अर्को सरकार बन्ने हो । तपाईं-हामीले बनाएको संविधान हामीबाटै उल्लङ्घनमा पर्नु भएन नि ।
कथम् प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अर्को सरकार ३ अनुसार नै बन्छ भन्नेमा तपाईंहरू ढुक्क हो ?
त्यसमा हामी ढुक्क हुने वा नहुने भन्ने नै होइन नि । त्यो त संविधानत: त्यो उपधारामा पुग्ने कुरा हो नि । संविधानले भनेको कुरै त्यही हो । यो हाम्रो कुरा होइन ।
राष्ट्रपतिले के गर्नुहोला फेरि, सरकार गठनको आह्वान त उहाँमा निहीत छ नि ?
उहाँ संविधानको संरक्षक हो । उहाँले त्यसको उल्लङ्घन गर्नुहुन्न भन्ने विश्वास छ । किनभने यो संविधान निर्माणमा उहाँको पनि ठूलै योगदान छ । उहाँबाट संविधान उल्लङ्घनमा पर्दैन ।
कतिपयले चाहिँ राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत तथा राजनीतिक साइनो-सम्बन्धको कुरा पनि गर्छन् नि ?
त्यो आफ्नै ठाउँमा होला । सरकार गठनको कुरामा व्यक्तिगत वा राजनीतिक सम्बन्धले कहाँ काम गर्छ ? त्यहाँ सिर्फ संविधानको धाराले काम गर्ने हो ।
भनेपछि अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिन आउँछ ?
संविधान नै त्यही भन्छ । संविधानको पालना गर्दै जाँदा त्यस्तो हुनुपर्ने हुनसक्छ, हुन्छ ।
सम्बन्धित समाचारनयाँ सरकार कुन धाराअन्तर्गत बन्छ ? संविधानविद् तीन धारमा विभाजित – Nepal Views
Facebook Comment
Comment