सरकार गठनका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

नेपालभ्युज

सरकार गठनका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सरकार गठनका विषयमा छलफल गर्न सचिवालयको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ ।

सचिवालय बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको छिनोफानो, पछिल्लो राजनीतिक घटनामा पार्टीको भूमिका र सरकार लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आजको बैठकले निर्णय गर्ने गौतमले बताए ।

आजको बैठकमा असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीका विषयमा अध्यक्ष ओलीले नेताहरुलाई ब्रिफिङ् गर्ने बताइएको छ ।

नयाँ सत्ता गठबन्धनमा झण्डै दुई तिहाइको समर्थन जुटेसँगै अध्यक्ष केपी ओलीले सरकार गठनको विषयमा पार्टीभित्र छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिन नसके नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुनेछ ।

यसैबीच,मन्त्री बन्न चाहना राख्नेहरुले पनि दौडधुप बढाउन थालेका छन् । एमालेमा मन्त्री बनाउने विषयमा अध्यक्ष ओलीको एकल निर्णय लागू हुने भएकाले कतिपयले आफ्ना दाबी विभिन्न माध्यमबाट पेश गर्न थालेका छन् ।

ओलीले तयार पारेको मन्त्रीको सूचीमा समानुपातिक र राष्ट्रिय सभाका सांसदको नाम रहेको भन्दै प्रत्यक्ष निर्वाचित सांसदले असन्तुष्टि जनाएका छन् ।

ओलीको सूचीमा भर्खरै सचेतकको जिम्मा पाएकी समानुपातिक सांसद सुनिता बराल र राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाललाई मन्त्री बनाउने ओलीको चाहना रहेको एक नेताको दाबी छ । दुवै झापाका हुन् ।

ओलीले यसपटक युवालाई प्राथमिकता दिने तयारी गरेका छन् ।

उनको सूचीमा पदम गिरी, जो अहिलेको सरकारमा पनि कानूनमन्त्री थिए । त्यस्तै पार्टी सचिव गोकर्ण विष्ट, प्रमुख सचेतक रहेका महेशकुमार बर्तौला, सुहाङ नेम्वाङलगायतको नाम रहेको ती नेताको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved