काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।
प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनीहरूलाई गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।
यही असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक-२ की अनु गुरूङसहित तीन जना ललितपुरको हात्तीवन जान लागेकी थिइन् ।
तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी उनीहरूलाई गन्तव्यतर्फ लैजाँदै थिए ।
तेजले चलाएको प्रदेश नम्बर ३-०२-००७ प ६६७९ नम्बरको पल्सर बाइक कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि दुर्घटनामा परेको थियो । जसमा अनु सवार थिइन् ।
त्यस क्रममा मोटरसाइकलबाट खसेकी अनुलाई पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सीबीएट मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा असार १८ गते अनुको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment