सुदूरपश्चिमका दुई जिल्ला डुबानमा, कल्भर्ट भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालभ्युज

सुदूरपश्चिमका दुई जिल्ला डुबानमा, कल्भर्ट भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
तस्बिर - रासस

काठमाडौं । सुदूरपश्चिममा आएको बाढी र डुबानका कारण सर्वसाधारणले कष्ट ब्योहरेका छन् । गाँउमा बाढी पस्दा कैलाली र कञ्चनपुरका ६०० परिवार प्रभावित भएका हुन् ।

शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

६ सय बढी परिवारका दुई हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि विस्थापित हुनेहरुको संख्या बढ्दै गएको छ ।

कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भङ्गालोमा फसेका २९ जनाको सकुशल उद्दार गरिएको डीआईजी रविन्द्र केसीले जानकारी दिए ।

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

डीआईजी केसीले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रहरीकै संख्यामा अन्य सशस्त्र प्रहरी र नेपाली सेना समेत उद्दार तथा राहतका काममा खटिएका छन् ।

सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भूभाग सबैभन्दा बढी प्रभावित भएको छ ।

भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र सबैभन्दा बढी डुबानमा परेका छन् ।

भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण सबै भन्दा बढी प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् ।

ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी छ ।

त्यस्तै, भीमदत्त नगरपालिका पनि डुबानको चपेटामा परेको छ । नगरपालिकाको प्रभावित क्षेत्रका बासिन्दाको उद्दारको काम आइतबार रातिदेखि नै सुरु भएको छ ।

यसैबीच कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

यसैबीच पहिरोका कारण डडेल्धुराको साहुखर्कमा अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ ।

बझाङको मालाभिर क्षेत्रमा पहिरो गएका कारण जयपृथ्वी राजमार्ग अझै अवरुद्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved